`

अर्घाखाँचीमा पिपिआरबाट २८ बाख्रा मरे, संक्रमण नियन्त्रण उन्मुख

Nepal One HD ८ असोज २०८३ १७:२१
जीवनशैली/स्वास्थ्य

अर्घाखाँची। अर्घाखाँचीमा पिपिआर रोगको संक्रमणबाट डेढ महिनाको अवधिमा २८ वटा बाख्रा मरेका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाको भूमिकास्थान नगरपालिका र सन्धिखर्क नगरपालिकामा संक्रमण फैलिँदा २८ वटा बाख्रा मरेका हुन्।

साउनको अन्तिम सातादेखि भूमिकास्थान नगरपालिका-४ को बिष्टबारी र मकै डाँडा, वडा नं. ५ को असुरकोट तथा वडा नं. ८ को नुवाकोट उप्रिकोट क्षेत्रमा संक्रमण देखिएको थियो। पछिल्लो समय सन्धिखर्क नगरपालिका-८ मा समेत संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार संक्रमणबाट भूमिकास्थानमा २१ र सन्धिखर्कमा ७ वटा बाख्रा मरेका छन्।

संक्रमण फैलिएपछि नियन्त्रणका लागि बाख्रालाई पिपिआरविरुद्धको खोप लगाउनुका साथै संक्रमित क्षेत्रमा बाख्राको ढुवानीमा प्रतिबन्ध लगाइएको थियो। पछिल्ला केही दिनयता संक्रमण फैलिन रोकिएको भन्दै प्रशासनले बाख्राको बिक्री वितरण तथा ओसारपसार खुला गरेको छ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बाख्रालाई खोप लगाउने अभियानलाई निरन्तरता दिँदै स्वास्थ्य परीक्षणपछि बिक्री वितरण र ओसारपसार खुला गरिएको जनाएको छ।

कार्यालयले पिपिआरविरुद्धको खोप नलगाएका तथा संक्रमित बाख्रा बिक्री वितरण नगर्न पनि आग्रह गरेको छ।

पिपिआर भेडा र बाख्रामा लाग्ने अत्यधिक संक्रामक विषाणुजन्य रोग हो। यसलाई गाउँघरमा भेडा तथा बाख्राको हैजा पनि भन्ने गरिन्छ।

पशु चिकित्सकका अनुसार यो रोग लाग्दा उच्च ज्वरो आउने, मुख र जिब्रोमा घाउ हुने, र्‍याल तथा सिँगान बग्ने, कडा निमोनिया हुने र दुर्गन्धित दिसा गर्ने जस्ता लक्षण देखिन्छन्।

गोठमा एउटा बाख्रामा संक्रमण देखिएमा त्यहाँ रहेका ५० देखि ९० प्रतिशतसम्म बाख्रा संक्रमित हुन सक्ने चिकित्सकहरू बताउँछन्।

संक्रमण फैलिन नदिन संक्रमित बाख्रालाई अन्यबाट अलग राखेर उपचार गर्न उनीहरूले सुझाव दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *