`

सुर्खेतको सामुदायिक वनमा बेवारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला

Nepal One HD १२ असोज २०८३ ९:३७
समाचार

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडीचौरस्थित सामुदायिक वनमा बेवारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत सिम्ता गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बादेपीपलबाट प्रहरी नायब निरीक्षक चेतनबहादुर बुढाको नेतृत्वमा खटिएको टोलीले ती बन्दुकहरू फेला पारेको हो।

उक्त सामुदायिक वनको सालघारीमा बनमाराको झारमुनि कालो छाताको कपडाले बेरेर राखिएको अवस्थामा बन्दुकहरू भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार दुई नाल साबुत र एक नाल बेसाबुत गरी जम्मा तीन नाल घरेलु भरुवा बन्दुक बेवारिसे अवस्थामा रहेको भन्ने सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्राप्त सूचनाका आधारमा टोलीले ती हतियार बरामद गरी नियन्त्रणमा लिएको हो। फेला पारिएका बेवारिसे बन्दुकहरू कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *