अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छ : मन्त्री पोखरेल
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदसहित ठुला अन्तरराष्ट्रिय प्रतियोगितामा अपेक्षित नतिजा हासिल गर्न खेलकुदको तल्लो तहदेखि दीर्घकालीन लगानी आवश्यक रहेको बताएका छन्।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले विगतमा ‘ग्रासरुट’ तहमा पर्याप्त लगानी हुन नसक्दा अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन कमजोर भएको बताए।
“एसियाली खेलकुदलगायत अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा पदक जित्न नसक्नु वा नतिजा कमजोर हुनुको मुख्य कारण विगतमा ग्रासरुट तल्लो तहदेखि उल्लेख्य र प्रभावकारी लगानी हुन नसक्नु हो । खेलकुदमा आज लगानी गरेर भोलि नै नतिजा वा पदक आउँदैन, यसका लागि दीर्घकालीन लगानी आवश्यक हुन्छ”, मन्त्री पोखरेलले भने।
खेलकुद पूर्वाधार विकासका लागि सहरी विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच समझदारी भई देशका २७ स्थानमा कभर्ड हल, क्रिकेट तथा फुटबल रङ्गशालालगायत पूर्वाधार निर्माण अघि बढाइएको उहाँले जानकारी दिए।
विभिन्न प्रतियोगितामा सफलता हासिल गरेका खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरिएकामा पुरस्कार प्राप्त नभएकाको हकमा अर्थ मन्त्रालयसँग समन्वय गरी आर्थिक स्रोत सुनिश्चित गरेर उपलब्ध गराइएको जानकारी दिए।
मन्त्री पोखरेलले घरेलु लिग सञ्चालनको विषयमा खेलाडीहरूसँग छलफल गरिएको भन्दै घरेलु लिग सञ्चालनका लागि तयारी भइरहेको बताए ।
