टेकु अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात, तीन जना पक्राउ
काठमाडौं । टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ का ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी छन्।
प्रहरीका अनुसार घटना असोज १४ गते राति करिब १ बजेको हो। तीनै जना अस्पतालको आकस्मिक कक्षमा पुगेपछि ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग विवाद भएको थियो।
त्यस क्रममा गालीगलौज गर्नुका साथै धाकधम्की दिएको र हातपातसमेत गरेको सूचना प्रहरीकहाँ पुगेको थियो।
सूचना पाएपछि प्रहरी वृत्त कालीमाटीबाट टोली अस्पताल पुगेको थियो। जाँचका क्रममा पक्राउ परेकाहरू घटनामा संलग्न रहेको खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार तीनै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
