`

श्रम कार्यालय नेपालगन्जमा परेका ४० उजुरीमध्ये ३० फर्छ्यौट, बाँकी विवाद समाधानको प्रक्रियामा

Nepal One HD १७ असोज २०८३ ७:४०
समाचार

बाँके । श्रम कार्यालय नेपालगन्जले श्रमसम्बन्धी कार्यालयमा दर्ता भएका उजुरीलाई समाधान गर्दै अगाडि बढेको छ । श्रमिकका हक, अधिकार, पारिश्रमिक, श्रमसम्बन्धी विवाद तथा श्रम कानुन कार्यान्वयनसँग सम्बन्धित विषयमा उजुरी पर्ने गरेको श्रम कार्यालय नेपालगन्जका प्रमुख पिन्टुकुमार रजकले जानकारी दिए ।

उ का अनुसार, गत आर्थिक वर्ष २०८२र०८३ मा कार्यालयमा परेका श्रमसम्बन्धी ४० उजुरीमा ३० वटा उजुरी फर्छ्यौट भएका छन् भने बाँकी उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढिरहेको छ । श्रमसम्बन्धी विवाद समाधान तथा कानुन कार्यान्वयनका लागि कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र रहेर आवश्यक कारबाही गर्दै आएको छ ।

गत आर्थिक वर्षमा फर्छ्यौट हुन नसकेको हाल श्रम कार्यालय नेपालगन्जमा २१ मुद्दा दर्ता रहेका छन् । तीमध्ये आधाजसो मुद्दा फर्छ्यौट भइसकेको र बाँकी उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढिरहेको कार्यालय प्रमुख रजकले जानकारी दिए ।

कार्यालयले श्रमसम्बन्धी विवाद समाधानका लागि गत आर्थिक वर्षमा बाँकेसहित आफ्नो कार्यक्षेत्रमा रहेका ३०० भन्दा बढी प्रतिष्ठानको अनुगमन तथा निरीक्षण गरेको छ । विशेषगरी श्रमिकलाई कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराइएको छ वा छैन, बालश्रमको अवस्था, श्रम कानुनको पालना तथा श्रमिकका आधारभूत अधिकारको अवस्थाबारे कार्यालयले नियमित अनुगमन गर्दै आएको कार्यालय प्रमुख रजकले बताए ।

बाँके, बर्दिया, दाङ र पूर्वीरुकुम गरी चार जिल्ला कार्यक्षेत्र रहेको श्रम कार्यालय नेपालगन्जले श्रम कानुन कार्यान्वयन तथा श्रमिकका अधिकार संरक्षणका लागि काम गरिरहेको कार्यालय प्रमुख रजकको भनाइ छ ।

श्रम तथा रोजगार कार्यालय नेपालगन्जले तोकिएको समयभित्र दर्ता नवीकरण नगर्ने विभिन्न १९ वटा प्रतिष्ठानस्तरका ट्रेड युनियनको दर्ता खारेजी गरेको छ । ट्रेड युनियन ऐन, २०४९ को दफा १७ तथा ट्रेड युनियन नियमावली, २०५० को नियम ९ बमोजिम म्यादभित्र र थप दस्तुरसहित नवीकरण गर्न नआएका १९ वटा प्रतिष्ठानस्तरका ट्रेड युनियनको दर्ता खारेजी भएको श्रम तथा रोजगार कार्यालय नेपालगन्जका कार्यालय प्रमुख रजकले जानकारी दिए।

उनका अनुसार, शक्ति पोलिप्लेट प्रालि, जानकी गाउँपालिका–४ बाँके, लक्ष्मी प्लास्टिक प्रालि, नेपालगन्ज, बिन्द्रावासिनी सेक्युरिटी प्रालि नेपालगन्ज, राजलक्ष्मी ग्यास इण्डष्ट्रिज प्रालि नेपालगन्ज, मनकामना ग्यास उद्योग नेपालगन्ज, मनकामना फुटवेयर इण्डष्ट्रिज प्रालि नेपालगन्ज, ज्ञान फूड प्रोडक्ट्स प्रालि पार्वतीपुर, बाँकेमा रहेका प्रतिष्ठानस्तरका ट्रेड युनियनहरू खारेजीमा परेका छन् ।

यसैगरी नेपाल रिपब्लिक मिडिया प्रालि नेपालगन्ज, हलवल ग्रुप फाइभ सेक्युरिटी प्रालि कोहलपुर बाँके, केटिप ग्रुप प्रालि कोहलपुर बाँके, विदुषी विजी एण्ड सामाजिक प्रालि कोहलपुर बाँके, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङ, घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालि घोराही दाङ, तुल्सीपुर यातायात प्रालि दाङ, ह्याप्पी हावर प्रालि नेपालगन्ज, होटल डायमण्ड प्यालेस प्रालि नेपालगन्ज, भेरी ग्यास उद्योग प्रालि नेपालगन्ज र कर्णाली डिष्टिलरी प्रालि खजुरा बाँकेमा रहेका प्रतिष्ठानस्तरका ट्रेड युनियन खारेजीमा परेको श्रम तथा रोजगार कार्यालय नेपालगन्जका कार्यालय प्रमुख रजकले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *