सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद
सर्लाही, १९ असोज : दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । मिति २०८३ असोज १९ गते सोमबार दिउँसो कविलासी नगरपालिका–३, मदनपुरस्थित भित्री सडकमा भारतीय नम्बर बिआर ३० वाई २८३५ नम्बरको मोटरसाइकल चालकबाट पेस्तोल बरामत गरिएको हो ।
घाइते चालक सोही स्थानका ३३ वर्षका तुलसी ठाकुरको साथबाट प्रहरीले एक थान सिक्सर पेस्तोल बरामद गरेको हो । आफैँ अनियन्त्रित भई दुर्घटनामा परेका मोटरसाइकल चालक घाइते रहेको र उनको साथमा पेस्तोल रहेको स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
हतियारसहित घाइते ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँको दायाँ र बायाँ हातमा सामान्य चोट लागेको छ ।ठाकुर प्रहरीको नियन्त्रणमा छन् । उहाँका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
