`

बाढीले रिसोर्ट बगाए पनि हिम्मत हारेनन् हुम थापा, भग्नावशेषबाटै नयाँ सुरुवातको तयारी

Nepal One HD २० असोज २०८३ २०:०१
समाचार

पोखरा ।बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’को भग्नावशेषछेउ बसेर रिसोर्टका सञ्चालक हुम थापाले गत बिहीबार सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित एउटा पोस्ट साझा गरे।

‘परिस्थिति जस्तो भए पनि सुखदुःखमा साथ दिने प्यारो जङ्गे’—थापाले लेखेका थिए।

उक्त तस्बिर खिच्दा थापाको साथमा थियो उनको प्यारो कुकुर ‘जङ्गे’, जो लामो समयदेखि रिसोर्टको रेखदेख र सुरक्षामा सहयोगी बन्दै आएको थियो।

दरमखोलामा आएको बाढीले बागलुङको गलकोट नगरपालिका–७ मल्मका युवा उद्यमी थापाको रिसोर्टसहित आसपासमा पारेको क्षतिको दृश्य त्यही एउटा तस्बिरबाटै प्रस्ट हुन्थ्यो। तस्बिर देखेपछि आफन्त र शुभेच्छुकले उनलाई सहानुभूति मात्र दिएनन्, संकटका बेला नआत्तिन ढाडस पनि दिए। कतिपयले साथ र सहयोगको बचनसमेत दिए।

थापा अहिले आफूलाई सम्हाल्दै छन्। झण्डै दुई करोड रुपैयाँ लगानीमा निर्माण गरिएको रिसोर्टलाई पुनः सञ्चालनमा ल्याउने अठोटका साथ उनी अघि बढिरहेका छन्।

गलकोट नगरपालिका–३ चिसापानीमा रहेको उक्त रिसोर्ट पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै थियो। थापाले छ वर्षअघि जिल्लामै पहिलोपटक पौडी पोखरीसहितको रिसोर्ट सञ्चालनमा ल्याएका थिए। रेम्बो ट्राउट माछापालनका कारण पनि चिसापानीले छुट्टै पहिचान बनाएको थियो।

थापाले पर्यटक आकर्षित गर्न पिङ, बगैँचालगायतका संरचना निर्माण गरेका थिए। रेम्बो ट्राउट र स्थानीय दरमखोलाको असला माछाका परिकारका लागि रिसोर्ट परिचित थियो। प्राकृतिक वातावरणमा रमाउन चाहने पर्यटकका लागि परम्परागत शैलीका घरसमेत निर्माण गरिएका थिए।

थापाको योजना यत्तिमै सीमित थिएन। उनी निकट भविष्यमा ‘स्काइ साइक्लिङ’ र ‘जिपलाइन’ सञ्चालन गर्ने तयारीमा थिए। कोभिड–१९ महामारीपछि रिसोर्ट विस्तारै व्यावसायिक रूपमा सफल हुँदै गएको थियो। पर्यटक तथा पाहुनाको आकर्षण पनि बढ्दै गएको थियो।

‘रिसोर्टमा बर्सेनि नयाँनयाँ संरचना थप्दै ल्याएको थिएँ, अहिलेको बाढीले सबै सपना क्षणभरमै चकनाचूर पार्‍यो,’ थापाले भने, ‘प्रकृतिसँग कसैको केही नचल्ने रहेछ। देशविदेशमा रहेका साथीभाइ र आफन्तको साथ, सहयोग र हौसलाले फेरि उठ्ने प्रयासमा छु। नयाँ सोच र नयाँपनका साथ रिसोर्ट पुनः सञ्चालनमा ल्याउनेछु।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *