थापा पोलिक्लिनिक प्रकरण : पक्राउ परेका स्वास्थ्यकर्मीमाथि प्रहरी र परिषद्को छुट्टाछुट्टै अनुसन्धान
काठमाडौं। बाँकेको कोहलपुरमा स्वास्थ्य परीक्षणका क्रममा २२ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्। घटनापछि प्रहरी अनुसन्धानसँगै स्वास्थ्य व्यवसायीको नियामक निकायले समेत छुट्टै छानबिन थालेको छ।
कोहलपुर नगरपालिका-११ रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकका सञ्चालक ६३ वर्षीय गणेशबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत बाँकेबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पेट दुख्ने, गानोगोला हुने र सेतो पानी बग्ने समस्या भएपछि ती युवती उपचारका लागि पोलिक्लिनिक पुगेकी थिइन्। स्वास्थ्य परीक्षणका क्रममा संवेदनशील अङ्गमा जबरजस्ती हात लगाएर यौनजन्य दुर्व्यवहार गरेको आरोप लगाउँदै पीडित पक्षले असोज १८ गते प्रहरीमा जाहेरी दिएको थियो। जाहेरी परेपछि प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा फैलिएपछि विषय थप चर्चामा आएको थियो। भिडियोमा एक महिलाले स्वास्थ्यकर्मीमाथि हातपात गरेको दृश्य देखिएको बताइएको छ।
तर थापाले भने आरोप अस्वीकार गरेका छन्। बिरामीले नै तल्लो पेट दुख्ने तथा अन्य स्वास्थ्य समस्या बताएपछि आफ्नो आग्रहमा शारीरिक परीक्षण गरेको र आफ्नो कुनै गलत नियत नरहेको उनको दाबी छ। उपचारपछि युवती शुल्क तिरेर फर्किएको र करिब आधा घण्टापछि अभिभावक तथा केही सञ्चारकर्मीसहित आएकी महिलाले आफूलाई हातपात गरेको पनि थापाको भनाइ छ।
घटनापछि बाँके प्रहरीले स्वास्थ्यकर्मीले महिला बिरामीको संवेदनशील अङ्ग परीक्षण गर्दा संरक्षकको उपस्थिति हुनुपर्ने ‘नेपाल हेल्थ प्रोफेसनल काउन्सिल कोड अफ एथिक्स’को प्रावधान स्मरण गराएको थियो।
तर नेपाल सिएमए सङ्घले प्रहरीको उक्त विवरणप्रति आपत्ति जनाएको छ। सङ्घका अनुसार सिएमए/अहेवहरू नेपाल मेडिकल काउन्सिलमा नभई नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा चिकित्सक तेस्रो श्रेणीअन्तर्गत दर्ता हुने कानुनी व्यवस्था छ।
प्रहरीले पर्याप्त अध्ययन र प्रमाणबिनै अहेवहरूको दर्तासम्बन्धी विषयमा गलत विवरण सार्वजनिक गरेको सङ्घको दाबी छ। सङ्घले घटनाको संवेदनशीलतालाई ध्यान दिँदै कानुनी व्यवस्था र तथ्यका आधारमा मात्र सूचना सार्वजनिक गर्न तथा प्रहरीको विज्ञप्तिमा रहेको भनिएको त्रुटि सच्याउन माग गरेको छ।
यसैबीच नेपाल औषधि व्यवसायी सङ्घ बाँकेले पोलिक्लिनिक तथा औषधि व्यवसाय सञ्चालनका क्रममा प्रवेश गरी हातपात र अभद्र व्यवहार गरिएको भन्दै व्यवसायीको सुरक्षामाथि प्रश्न उठाएको छ। सङ्घले घटनामा संलग्न र भिडियो सामाजिक सञ्जालमा फैलाउनेमाथि समेत कानुनी कारबाहीको माग गरेको छ।
घटनाबारे परेको अनलाइन उजुरीलाई लिएर नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। परिषद्ले घटनाको अनुसन्धान गरी सत्यतथ्य विवरण पेस गर्न समितिलाई जिम्मेवारी दिएको जनाएको छ।
यसरी एउटै घटनामा प्रहरीको आपराधिक अनुसन्धान, स्वास्थ्य व्यवसायी परिषद्को पेशागत छानबिन तथा सम्बन्धित संघसंस्थाको धारणा सार्वजनिक भइरहेका छन्।
