एनपिएलमा काठमाण्डु गोर्खाजबाट खेल्ने भए विल बोसिस्टो
काठमाडौं । अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्ने भएका छन्। गोर्खाजले सामाजिक सञ्जालमार्फत बोसिस्टोलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो।
एनपिएलका अघिल्ला दुई संस्करणमा कर्णाली याक्सबाट खेलेका बोसिस्टोले तेस्रो संस्करणमा भने नयाँ टोलीबाट प्रतिस्पर्धा गर्नेछन्।
काठमाण्डु गोर्खाजले यसअघि अष्ट्रेलियाका अनुभवी ब्याटर डेविड वार्नर, श्रीलङ्काका सहान अराचिङ्गे र भारतका केएस भरतलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ।
त्यस्तै, ३३ वर्षीय बोसिस्टो ब्याटिङ र अफब्रेक बलिङ दुवैमा योगदान दिन सक्ने खेलाडी हुन्। उनले अष्ट्रेलियाको उमेर समूहको क्रिकेटमा समेत उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। सन् २०१२ मा अष्ट्रेलियाको यू-१९ टोलीको कप्तानी गरेका उनले सोही वर्ष यू-१९ विश्वकपमा पनि सहभागिता जनाएका थिए।
बोसिस्टोले अष्ट्रेलियाको घरेलु क्रिकेटमा फर्स्ट क्लास, लिस्ट ‘ए’ र टी-२० प्रतियोगिता खेलेका छन्। साथै, उनले फर्स्ट क्लास क्रिकेटका २८ खेलमा एक हजार १०० भन्दा बढी रन बनाउनुका साथै अफब्रेक बलिङमार्फत १७ विकेटसमेत लिएका छन्।
