`

दसैँले फर्कायो घर, तिहारपछि फेरि भारत : गड्डाचौकीमा बढ्यो भीड

Nepal One HD २५ असोज २०८३ ६:४६
समाचार

कञ्चनपुर, २५ असोज । दसैँ सुरु भएसँगै भारतमा रोजगारी गर्दै आएका नेपालीहरू घर फर्किन थालेपछि कञ्चनपुरको गड्डाचौकी नाकामा चहलपहल बढेको छ । परिवारसँग चाडपर्व मनाउन फर्किनेहरूको आगमनसँगै नाकामा सुरक्षा निगरानी, यात्रु सहायता र स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ ।

उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली र पञ्जाबलगायत क्षेत्रमा काम गर्दै आएका नेपालीहरू यही नाका हुँदै स्वदेश फर्किरहेका छन् । घर फर्किनेहरू परिवारसँग भेट्ने उत्साहमा छन् । तर, चाडपर्व सकिएपछि रोजगारीका लागि पुनः भारत जानुपर्ने बाध्यता पनि उनीहरूसँगै छ ।

भारतको देहरादुनमा सडक निर्माणको काम गर्दै आएका अछामको ढकारीका खगेन्द्र बुढा पाँच जना साथीसँगै घर फर्किँदै गर्दा गड्डाचौकीमा भेटिए । नेपालमा रोजगारीको अवसर नपाउँदा मजदुरीका लागि भारत जानुपरेको उनले बताए ।

“देहरादुनमा हामीहरू रोडमा काम गर्छौँ, दसैँ मनाउन घर फर्किएका हौँ,” बुढाले भने, “दसैँतिहार मनाएर फेरि रोजगारीका लागि उतै जानुपर्छ ।”

कालीकोटका निगेन्द्र शाही पनि हिमाचल प्रदेशबाट चाडपर्व मनाउन फर्किएका छन् । त्यहाँ खेतीपातीको कामबाट हुने आम्दानीले परिवारको खर्च धानिरहेको उनले बताए । उनीसँगै काम गर्न गएका अरू नेपाली पनि दसैँमा घर आउने र तिहारपछि पुनः काममा फर्किने गर्छन् ।

“हिमाचलमा खेतीपातीको काम गर्छौँ, त्यसको कमाइले घरखर्च चलेको छ,” शाहीले भने, “दसैँ मनाउन आउँछौँ, तिहारपछि फर्किने हो ।”

मसुरियाका मीनबहादुर कठायत दिल्लीमा सुरक्षा गार्डको काम गर्छन् । गत वर्ष चाडपर्व सकेर भारत गएका उनी यसपालि पनि दसैँ सुरु भएपछि घर फर्किएका छन् । गड्डाचौकी हुँदै नियमित आवतजावत गर्ने कठायतले यात्रामा समस्या नभएको बताए ।

“सधैँ दसैँमा यही नाका भएर घर फर्किन्छौँ, आवतजावतमा समस्या छैन,” उनले भने, “चाडपर्वपछि काममा फर्किन्छु ।”

यात्रुको चाप बढेसँगै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नाका र बसपार्कलगायत स्थानमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्कसहित जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

“नाका र बसपार्कमा तालिमप्राप्त कुकुर परिचालन गरेर पनि सुरक्षा जाँच भइरहेको छ,” रावतले भने । चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि न्यूनीकरण तथा यात्रुको सुरक्षित आवागमनका लागि निगरानी बढाइएको उनले जानकारी दिए ।

यसैबीच, भारतबाट फर्किने यात्रुलाई लक्षित गरी नाकामा स्वास्थ्य जाँचको व्यवस्था पनि मिलाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार डेङ्गु, मलेरिया र एचआइभीलगायत छ प्रकारका रोगको जाँच भइरहेको छ ।

गड्डाचौकीमा बढेको चहलपहलले चाडपर्वको उमङ्गसँगै भारतको रोजगारीमा निर्भर नेपाली परिवारको अवस्था पनि देखाएको छ । वर्षभरि परदेशमा श्रम गर्नेहरूका लागि दसैँतिहार परिवारसँग भेट्ने अवसर बने पनि पर्व सकिएपछि फेरि काम खोज्दै सीमापार फर्किनुपर्ने क्रम जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *