काटिएका छैनन् औँलाहरू
औँलाहरू काटिएका छैनन्
औँलाहरू, बगाइएका पनि छैनन्
कोशीको उर्लिँदाे पानीमा ।
सुरक्षित छन् दशै औँलाहरू।
सिञ्चित हुँदै थिए औँलाहरूमा
पुर्खाहरूको रगत लेखिनलाई
एउटा अमर इतिहास।
विरोध, घृणा र बेइज्जतिकाे छाती चिरेर
औँलाहरूमा उम्रिएका छन्
लिम्बुवानी सहिदहरूको सपना ।
सिरिजंगाले देखेको अन्तिम सपना
इमानसिंको मिहेनत ।
औँलाहरू काटिनु हुँदैन,
वीर नेम्बाङले जेलको भित्तामा
चिथोर्दै लेखेका अक्षरहरूलाई आकार दिनु छ-
लाजेहाङका कविताहरू
मातृभाषामा उल्था गर्नु छ
सुनाउनु छ-सरकारलाई
जिब्रो काटिँदाको पीडा।
लेख्नु छ-
मातृभाषा बोल्न पाउनुपर्छ भन्दा
दागिएका तातो गोलीहरूको
रक्तरञ्जित कथा ।
अब, अड्डा अदालतमा
मेरो आमा चिच्याउनेछिन् लिम्बु भाषाबाट ।
थर्किनेछन् भित्ताहरू ।
हल्लिनेछ राष्ट्रकाे झण्डा ।
नेपाली भाषा बोल्न नजान्ने मेरो काकाको,
नागरिकतामा थर अशुद्ध लेखिएपछि,
लाहुर, हापेका मेरो काका-
अब वडा कार्यालयको फाँटमा
लिम्बु भाषामा धारावाहिक गर्जिनेछन् ।
हल्लिनेछन् भित्तामा झुन्डिएका तस्बिरहरू,
काँप्नेछ हाकिमको कुर्सी,
सात दिन, सात रात
सृष्टिको आदिम मुन्धुम फलाक्न सक्ने
येबा, साम्बा र फेदाङ्माहरूले
अब दाबी गर्नेछन्- महाकविको उपाधि,
आदिकविको सम्मान र युगकविको पहिचान।
हो,
काटिएका छैनन् औँलाहरू,
बगाइएका पनि छैनन् कोशीको उर्लिँदाे पानीमा-
अब ती औँलाहरू-
अड्डा-अदालतमा मातृभाषा बनेर बोल्नेछन्।
अब ती औँलाहरू-
दबाइएका औँलाहरू डोर्याएर संगै जानेछन्
सत्ताका बन्द ढोकाहरूमा ।
र, लेख्नेछन्- आफ्नै मातृभाषामा
`लिम्बु भाषा´ अमर रहोस् ।
