दशैंमा ग्यास साट्ने ६ ठाउँ, कहाँ-कहाँ?
काठमाडौं। दशैंमा खाना पकाउने ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका ६ स्थानबाट एलपी ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था गरिएको छ। नेपाल एलपी ग्यास उद्योग संघले घटस्थापनादेखि फूलपातीसम्मका लागि यो सुविधा सञ्चालनमा ल्याएको हो।
संघका अनुसार उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्। सिलिन्डर साटेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने छैन, तर भरिएको ग्यासको तोकिएको मूल्य भने बुझाउनुपर्नेछ।
ग्यास साट्ने सुविधा कलंकी, बालाजु, पेप्सिकोला, सुकेधारा, सिफल र हरिसिद्धि गरी ६ स्थानमा उपलब्ध हुनेछ। कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबा ग्यास वितरण गरिनेछ। बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम र सुकेधारास्थित बाबा ग्यासको डिपोबाट पनि सेवा लिन सकिनेछ।
त्यस्तै, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट सिलिन्डर साट्न सकिने व्यवस्था मिलाइएको छ।
यी केन्द्रबाट बिहान ९ः३० बजेदेखि अपराह्न ४ बजेसम्म ग्यास वितरण तथा सिलिन्डर साट्ने काम हुनेछ। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा व्यवस्था कार्यान्वयन गरिएको हो।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार बजारमा ५८ वटा उद्योगका फरक-फरक ब्रान्डका सिलिन्डर प्रचलनमा छन्। एउटा कम्पनीको सिलिन्डर अर्को कम्पनीमा साट्दा उपभोक्ताले तीन सय रुपैयाँसम्म अतिरिक्त रकम तिर्नुपर्ने अवस्था रहेकाले त्यसबाट राहत दिन यस्तो व्यवस्था गरिएको हो।
विशेषगरी घरमा एउटा मात्र सिलिन्डर भएका परिवारलाई दशैंका बेला ग्यास खोज्दै पसलपसल धाउनुपर्ने बाध्यता कम गर्नु यसको उद्देश्य हो। सुविधाको दुरुपयोग रोक्न एक जना उपभोक्तालाई एउटा मात्र सिलिन्डर साट्न दिइनेछ। सेवा लिने व्यक्तिको पहिचान खुल्ने विवरण र मोबाइल नम्बरसमेत अभिलेखमा राखिने संघले जनाएको छ।
तर, जुनसुकै कम्पनीको सिलिन्डर साट्न सकिने भनिए पनि केही उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र स्वीकार गरेको उपभोक्ताको गुनासो छ।
त्यसैले घोषित व्यवस्था सबै वितरण केन्द्रमा प्रभावकारी रूपमा लागू भएमा मात्रै उपभोक्ताले यसको वास्तविक लाभ लिन सक्नेछन्।


















