`

कांग्रेसको मतगणनामै रडाको ! प्रदीप-उदय पक्ष भिडेपछि गणना रोकियो

Nepal One HD २५ असोज २०८३ १२:३१
नेपाली कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति र महामन्त्री पदको मतगणना विवादमा फसेको छ। महामन्त्रीका उम्मेदवार प्रदीप पौडेल र उदयशमशेर राणा पक्षका प्रतिनिधिबीच भनाभन र नाराबाजी भएपछि मतगणना रोकिएको हो।

मतगणनास्थलमा दुवै पक्षका प्रतिनिधिबीच विवाद चर्किएको र त्यस क्रममा निर्वाचन अधिकृतमाथि दुर्व्यवहार, धम्की तथा घम्साघम्सी भएको दाबी गरिएको छ। विवादका कारण गणना प्रक्रिया अवरुद्ध बनेको छ। अब मतगणना कहिले सुचारु हुन्छ भन्ने टुंगो लागेको छैन।

गणना रोकिँदासम्म महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल ५९५ मतसहित अगाडि छन्। अमरसिंह पुन मगरले ३९९ मत पाउँदा उदयशमशेर राणाले ३२३ मत प्राप्त गरेका छन्। डा. सुनिलकुमार शर्माको २५९, गुरुराज घिमिरेको १४९, नैनसिंह महरको १११, शंकर तिवारीको १७ र डा. सन्तोष उपाध्यायको १६ मत रहेको छ।

उपसभापतिको खुला प्रतिस्पर्धामा डा. चन्द्रकान्त भण्डारी ५४३ मतसहित पहिलो स्थानमा छन्। एक हजार २५ मत गणना हुँदा ई. मधु आचार्यले २९५ र गोविन्द भट्टराईले २४५ मत पाएका छन्। सुरेन्द्रराज पाण्डेको २४४, दीपक गिरीको २१२, धनराज गुरुङको १७६ र प्रा. डा. चन्द्रमोहन यादवको ११८ मत छ।

समावेशी उपसभापतिमा बिनोदकुमार चौधरी ३०१ मतसहित अगाडि छन्। जीवन परियारले २४६, फरमुल्लाह मन्सुरले १४३, सीता गुरुङले १३१ र रन्जित कर्णले ८७ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीको एक पदमा डा. डिला संग्रौला (पन्त) ले ४८१ मतसहित अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ४३६ र रीता खनालले १२६ मत पाएकी छन्।

मतगणना रोकिएपछि उम्मेदवारहरूको मतपरिणाम पर्खिरहेका प्रतिनिधि र कार्यकर्तामाझ अन्योल बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *