सुदूरपश्चिमको बजेटमा सत्तापक्षकै बखेडा, विपक्षमा भोट हाल्ने चेतावनीपछि बैठक स्थगित
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटले आफ्नै सत्तापक्षमा भुइँचालो ल्याएको छ ।
बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि प्रदेशसभा बैठक नै स्थगित भएको छ ।
आज बिहान ८ बजेका लागि बोलाइएको बैठक भोलि बिहान ९ बजेसम्मका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आजै बजेट पारित गर्ने तयारीमा रहेको सरकारलाई आफ्नै सांसदहरूको असहयोगको चेतावनीले अप्ठ्यारोमा पारेको छ ।
बजेट निर्माणमा बिचौलियामार्फत कमिसनको खेल भएको भन्दै सत्तारुढ दलभित्रै असन्तुष्टि चुलिएको स्रोतको दाबी छ । केही मन्त्रीसमेत बजेटप्रति असन्तुष्ट रहेको बताइएको छ । यद्यपि, कमिसनसम्बन्धी आरोपको स्वतन्त्र पुष्टि भएको छैन ।
बजेट निर्माणमा अर्थमन्त्री चक्रबहादुर मल्ल, मुख्यमन्त्री खगराज भट्ट र अर्थसचिव राजेन्द्र हमालले एकलौटी गरेको आरोप पनि लागेको छ । पर्याप्त छलफल नगरी सीमित व्यक्तिले बजेटका निर्णय गरेको भन्दै सत्तारुढ पक्षकै सांसदहरू रुष्ट बनेका हुन् ।
विवाद बढेपछि मुख्यमन्त्री भट्टले मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् । बजेटप्रति उठेका असन्तुष्टि सम्बोधन गर्दै प्रदेशसभाबाट बजेट पारित गराउने उपाय खोज्न छलफल हुन लागेको बताइएको छ ।
सत्तापक्षकै सांसदहरू विपक्षमा उभिने चेतावनीमा अडिग रहे सरकारलाई बजेट पारित गराउन थप सकस पर्नेछ ।
विवाद मिलाउन नसके बजेट पारित गर्ने प्रक्रिया अझै लम्बिने देखिएको छ ।
