बूढीगण्डकीमा पहिरोमा पर्ने मध्ये नौ जना विदेशी नागरिक रहेका छन्
काठमाडौं। गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान लेदोसहितको बाढी आउनुको मुख्य कारण पहिरोले खोला थुनिनुलाई मानिएको छ। जगत र सल्लेरीभन्दा माथिको सानो खोलामा ठूलो पहिरो गएर पानी थुनिएपछि आएको बाढीले १३४ वटा साना–ठूला घर तथा गोठ बगाएको छ। बाढीमा परी हालसम्म १२ जना बेपत्ता रहेको बुझिए पनि उनीहरूको अवस्थाबारे आधिकारिक पुष्टि हुन सकेको छैन।
खोला थुनिएको क्षेत्र तल्लो भेगमा रहेकाले माथिल्लो क्षेत्रका सुन्दर गाउँ तथा बस्ती भने बाढीबाट जोगिएका छन्। जगत र सल्लेरीभन्दा माथिका गाउँबस्ती यतिबेला निकै आकर्षक देखिन्छन्।
पहिरोका कारण बूढीगण्डकीमा ठूलो बाढी आएपछि नदी किनार हुँदै हिमालतर्फ जाने पदमार्गमा रहेका साना बजार संकटमा परेका छन्। अहिले पदयात्राको मुख्य सिजन भएकाले स्वदेशी तथा विदेशी पर्यटक त्यस क्षेत्रमा जान थालेका थिए। पर्यटकको चहलपहल बढेसँगै त्यहाँका साना तथा ठूला होटलसमेत सञ्चालनमा आइसकेका थिए।
यद्यपि, रसुवा र नुवाकोटको भोटेकोशी तथा त्रिशूली नदी किनारमा जस्तो ठूलो बस्ती, बजार र भौतिक संरचना यस क्षेत्रमा नरहेकाले तुलनात्मक रूपमा कम क्षति भएको बताइएको छ। उद्धारमा संलग्न एक टोलीले संकलन गरेको विवरणअनुसार बाढीले पक्की घरभन्दा बढी छाप्रा तथा कच्ची घर बगाएको छ।
बाढीका कारण आरुघाटमा रहेको पक्की पुलसमेत बगेपछि आवागमनमा थप समस्या भएको छ। पुलको विकल्पमा बेलिब्रिज जडान गर्न नेपाली सेनाले आवश्यक विवरणसहितको प्रतिवेदन तयार पार्ने तयारी गरेको छ। बेलिब्रिजका सामग्री हेटौँडाबाट आइतबार नै आरुघाटतर्फ पठाइसकिएको स्रोतले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएको नेपाली सेनाको हेलिकोप्टर आरुघाटमा रोकिएको थियो। सेनाको हेलिकोप्टरमार्फत उक्त क्षेत्रबाट ८० जनालाई काठमाडौं ल्याइएको छ। उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिक रहेका छन्।
