प्रहरी निरीक्षकलाई प्रधानमन्त्री शाहको निर्देशन : दबाब र प्रभावमा नपर्नू, व्यक्तिगत स्वार्थमा नलाग्नू
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।
उनले संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन पनि प्रहरी अधिकृतहरूलाई सचेत गराएका छन्।
प्रहरी निरीक्षक आधारभूत तालिमको १ देखि १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नैतिकता, निष्ठा, इमानदारी र अनुशासनलाई प्रहरी सेवाको सफलताको मुख्य आधारका रूपमा प्रस्तुत गरे।
उनले संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको पालना गर्दै जिम्मेवारीप्रति जवाफदेही भएर काम गर्न प्रहरी अधिकृतहरूलाई आग्रह गरे। प्रहरी सेवामा आबद्ध सबैले पेशागत आचरण कायम राख्नुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले नेपाल प्रहरीको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गर्नु, अपराध अनुसन्धान गर्नु र संकटका बेला नागरिकको जिउधनको रक्षा गर्नु रहेको उल्लेख गरे। यी जिम्मेवारी निर्वाह गर्दा कुनै पनि अनुचित प्रभावमा नपरी भेदभावरहित ढंगले कर्तव्यमा अडिग रहनुपर्ने उनले बताए।
प्रहरीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुका साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा पनि उनले जोड दिए।
१६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै प्रधानमन्त्री शाहले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे। प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक क्षमता उनीहरूले हासिल गरेको विश्वास व्यक्त गर्दै उनले सफल कार्यकालको शुभकामना दिए।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले बदलिँदो समयसँगै अपराधका स्वरूप र प्रवृत्तिसमेत परिवर्तन हुँदै गएको उल्लेख गरे। अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही उपयोग गर्नुपर्ने उनको भनाइ थियो।
सूचना प्रविधिले प्रहरीको कामलाई छिटो, छरितो र पारदर्शी बनाउन सहयोग गर्ने भन्दै उनले यसको प्रभावकारी प्रयोगमा जोड दिए। यस्तो अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उनले बताए।
प्रधानमन्त्री शाहले प्रहरी संगठनको नेतृत्व, प्रशिक्षक तथा समग्र संगठनको भूमिका पनि व्यावसायिक प्रहरी सेवा निर्माणका लागि महत्त्वपूर्ण हुने उल्लेख गरे।
समारोहमा उनले प्रहरी निरीक्षकहरूलाई असल कर्ममार्फत आफ्नो भविष्य र संगठनको प्रतिष्ठा निर्माण गर्न आग्रह गरे।
तालिम पूरा गरी प्रहरी सेवामा प्रवेश गर्न लागेका अधिकृतहरूका अभिभावक तथा परिवारजनप्रति आभार व्यक्त गर्दै उनले समारोह आयोजना गर्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई धन्यवाद दिए।
