`

कांग्रेसको नेतृत्व चयनप्रति अमरेशकुमारको कटाक्ष, दलित, मधेसी र जनजातिको प्रतिनिधित्व खोइ ?

Nepal One HD २७ असोज २०८३ ८:०९
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसको नेतृत्व चयनमा समावेशिताको विषय उठाउँदै पार्टीको नेतृत्व संरचनामाथि प्रश्न गरेका छन्।

कांग्रेसले समावेशी लोकतन्त्रको नारा दिए पनि नेतृत्व चयनमा विभिन्न जातीय समुदाय र प्रदेशको प्रतिनिधित्व कमजोर देखिएको भन्दै सिंहले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।

उनले लेखेका छन्, ‘न जनजाति, न दलित। प्रादेशिक हिसाबले पनि मधेश, सुदूरपश्चिम र कर्णाली शून्य। अब टीके बन्ने हो? खोदा पहाड तो निकला चुहा!’

सिंहले कांग्रेसको सभापतिदेखि महामन्त्रीसम्मका पदमा खस–आर्य समुदायको वर्चस्व देखिएको उल्लेख गर्दै दलित, मधेसी, थारू, मुस्लिम, आदिवासी जनजाति तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्वबारे प्रश्न उठाएका छन्।

‘समावेशी लोकतन्त्रको चर्को नारा दिने नेपाली कांग्रेसको नेतृत्व चयनमा समावेशिताको वास्तविक तस्बिर कहाँ छ?’ उनले प्रश्न गरेका छन्।

कांग्रेसजस्तो ऐतिहासिक लोकतान्त्रिक पार्टीले सबै समुदायलाई समान अवसर र सम्मान दिनुपर्नेमा जोड दिँदै सिंहले समावेशिता भाषणमा मात्र नभई नेतृत्वको संरचनामै देखिनुपर्ने बताएका छन्।

‘समावेशिता भाषणमा होइन, नेतृत्वको संरचनामा देखिनुपर्छ। महिला प्रतिनिधित्वलाई पनि एउटै समुदायमा सीमित गरेर साँचो समावेशिताको दाबी गर्न मिल्दैन,’ उनले लेखेका छन्।

नेतृत्व चयनमा सबै समुदायको सहभागिता र प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने धारणा राख्दै सिंहले अन्यथा परिवर्तनको नारा नारामै सीमित हुने टिप्पणी गरेका छन्।

‘नाम नयाँ, नारा नयाँ तर नेतृत्वको चरित्र र प्रतिनिधित्व पुरानै,’ भन्दै उनले जनताले खोजेको परिवर्तन यही हो त भनेर कांग्रेसको नेतृत्व चयनमाथि प्रश्न गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *