`

पाँच निर्माण कम्पनी कालोसूचीमा, कुन-कुन? [सूचीसहित]

Nepal One HD २७ असोज २०८३ १४:१९
अर्थ समाचार

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम असोज २५ गतेको निर्णयअनुसार मंगलबार सूचना प्रकाशित गरी उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो।

कालोसूचीमा पर्नेमा कैलालीको धनगढीस्थित बराहा डेभलपर्स प्रा.लि. (साविक राजेन्द्र निर्माण सेवा प्रा.लि.) पनि छ। अछामको कमलबजार नगरपालिकाको सिफारिसमा कारबाहीमा परेको उक्त कम्पनीका मुख्य व्यक्ति भीमबहादुर साउँद हुन्। कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।

त्यसैगरी, सुनसरीको हरिनगरा गाउँपालिकाको सिफारिसमा महोत्तरीको जलेश्वरस्थित दिपक निर्माण सेवा कालोसूचीमा परेको छ। मुख्य व्यक्ति सोमन्त यादव रहेको उक्त कम्पनीलाई दुई वर्षका लागि प्रतिबन्ध लगाइएको छ।

भैरहवा बहुमुखी क्याम्पसको सिफारिसमा बुटवलको अभियन्ता कन्स्ट्रक्सन प्रा.लि. पनि कारबाहीमा परेको छ। मुख्य व्यक्ति सजल नेपाल रहेको यस कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो।

पशु रोग अन्वेषण प्रयोगशाला पोखराको सिफारिसमा तनहुँको फूलबाराही डेभलपर्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि. कालोसूचीमा परेको छ। मुख्य व्यक्ति राजकुमार श्रेष्ठ रहेको उक्त कम्पनीले पनि दुई वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैन।

844838178_1109339911454236_7959382471042698160_n

यस्तै, बाराको प्रसौनी बहुप्राविधिक शिक्षालयको सिफारिसमा पर्साको प्रिन्स कन्स्ट्रक्सनलाई समेत दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त कम्पनीका मुख्य व्यक्ति अरविन्द चौरसिया हुन्।

कार्यालयका अनुसार कालोसूचीमा राख्ने निर्णय सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेछ। तोकिएको अवधिभर यी कम्पनी तथा व्यवसायीले कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *