दसैंमा घर फर्किने यात्रुसँग दोब्बरसम्म भाडा असुली
काठमाडौं । दसैं मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै सुदूरपश्चिमका पहाडी रुटमा मनपरी भाडा असुली र क्षमताभन्दा बढी यात्रु बोक्ने समस्या बढेको छ। ठूला बस पर्याप्त नचल्ने र कच्ची सडकका कारण साना जिप तथा हाइसमा निर्भर हुनुपर्ने बाध्यताको फाइदा उठाउँदै यातायात व्यवसायीले साविकको भन्दा दोब्बरसम्म भाडा माग्ने गरेको यात्रुहरूले गुनासो गरेका छन्।
डोटीको बुडरबाट बझाङ, बैतडी र दार्चुलातर्फ जाने यात्रुहरू चाडपर्वका बेला घर पुग्न महँगो भाडा तिर्न बाध्य भएका छन्। बुडरबाट बझाङको बुंगल जान लागेका जयबहादुर धामीले सामान्य अवस्थामा एक हजार रुपैयाँ लाग्ने यात्राका लागि अहिले एक हजार सात सय ५० रुपैयाँ तिर्नुपरेको बताए। साविकको भन्दा ७ सय ५० रुपैयाँ बढी भाडा मागिएपछि आफू मर्कामा परेको उनको भनाइ छ। दसैंमा घर पुग्नैपर्ने बाध्यताका कारण चर्को भाडा तिर्नुपरेको उनले गुनासो गरे।
त्यस्तै, बझाङकै बित्थडचिर जान लागेकी कलावती बोहराले पनि साविकमा आठ सय रुपैयाँ भाडा लाग्ने रुटमा अहिले एक हजार पाँच सय रुपैयाँ मागिएको बताइन्। त्यस्तै, बैतडीको पाटन जान लागेकी सीता महरासँग सामान्य अवस्थामा ६ सय रुपैयाँ लाग्ने यात्राका लागि नौ सय रुपैयाँ मागिएको छ।
बैतडीकै मेलौली जान लागेका हीरा भुलसँग पनि साविकको आठ सय रुपैयाँ भाडाको सट्टा एक हजार चार सय रुपैयाँ मागिएको छ। चाडपर्वका बेला यात्रुको चाप बढेसँगै भाडा वृद्धि हुँदा घर फर्किने यात्रु थप आर्थिक भारमा परेका छन्।
