`

फागुन १ देखि नेपाल फुटबल लिग [तस्वीरहरू]

Nepal One HD ३० असोज २०८३ १५:०७
खेलकुद

काठमाडौं । नेपाली फुटबललाई व्यावसायिक उचाइमा पुर्‍याउने लक्ष्यसहित नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ।

चार महिनासम्म चल्ने प्रतियोगितामा पुराना सात क्लबसहित थप नयाँ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

क्लबहरूको साझा संस्था नेपाल फुटबल लिगले आयोजना गर्ने प्रतियोगिता रंगशालाको उपलब्धताअनुसार होम एन्ड अवेको आधारमा सञ्चालन गरिनेछ। तयारी अवधिसमेत जोड्दा लिग करिब चार महिना चल्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसीले सहभागिता जनाउनेछन्। यी सात सहरसँगै अन्य सहरका नयाँ टोलीलाई पनि प्रतियोगितामा समेट्ने तयारी गरिएको छ।

नेपाली फुटबल लामो इतिहास बोकेको खेल भए पनि यसलाई व्यावसायिक रूपमा अघि बढाउन अझै चुनौती रहेको आयोजकको निष्कर्ष छ। यही अवस्थालाई चिर्दै घरेलु फुटबलमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यले एनएफएल आयोजना गर्न लागिएको हो।

क्लबहरूकै अग्रसरतामा स्थापना गरिएको नेपाल फुटबल लिगले प्रतियोगिता सञ्चालन गर्नेछ भने क्लबहरू लिगका सदस्यका रूपमा रहनेछन्। प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित बनाउन छुट्टै स्वतन्त्र समिति (इन्डिपेन्डेन्ट कमिटी) गठन गरिने अध्यक्ष कल्याण गुरुङले जानकारी दिएका छन्।

होम एन्ड अवेको संरचनाले विभिन्न सहरमा खेल सञ्चालन हुने र देशभर फुटबलको माहोल विस्तार हुने आयोजकको विश्वास छ।

एनएफएलमार्फत घरेलु फुटबललाई व्यावसायिक बनाउने, क्लबहरूको भूमिका बलियो पार्ने र नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखिएको छ।


 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *