स्पेनमा दुई उच्चगतिको रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
काठमाडौं । स्पेनको मध्यभागमा पर्ने टोलेदो प्रान्तमा दुई उच्चगतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। बुधबार बिहान भएको दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार म्याड्रिडबाट दक्षिणी सहर सेभिलतर्फ जाने रेलमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा स्पेनको सरकारी रेल कम्पनी रेन्फे र निजी रेल कम्पनी इर्योका रेल संलग्न थिए।
प्रारम्भिक विवरणअनुसार रोकिएको रेलको पछाडिबाट अर्को रेल ठोक्किएको थियो। ठक्करका कारण रेलका डिब्बा लिकबाट खसेका थिए। केही डिब्बा रेलमार्गको छेउमा रहेको भिरतर्फ खसेको बताइएको छ।
दुर्घटनास्थलमा उद्धारकर्मी तथा आपत्कालीन सेवाका टोली परिचालन गरिएको छ। घाइतेहरूको उद्धार तथा उपचार भइरहेको छ। अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्।
दुर्घटनापछि म्याड्रिड र दक्षिणी स्पेनलाई जोड्ने उच्चगतिको रेल सेवा अवरुद्ध भएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
-रोयटर्स
