एमालेको राष्ट्रिय भेला आजदेखि सुरु
काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने दुईदिने भेलामा देशभरबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी हुँदैछन् ।
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे भेलाको उद्घाटन गर्ने कार्यक्रम छ । भेलामा पार्टीका केन्द्रीय नेतादेखि पालिका तहका प्रतिनिधि, सांसद तथा स्थानीय तहका जनप्रतिनिधिसम्मको सहभागिता रहनेछ ।
राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यदिशा निर्धारण र आगामी स्थानीय तहको निर्वाचनको तयारी भेलाका प्रमुख एजेन्डा छन् ।
भेलामा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने विषयमा समेत छलफल हुनेछ । पार्टीले गर्नुपर्ने १५ वटा महत्वपूर्ण काम, जिम्मेवारी बाँडफाँट र कार्यसम्पादनका विषयमा पनि समीक्षा गरिनेछ ।
भेलालाई अध्यक्ष ओलीले विशेष सम्बोधन गर्नेछन् । त्यस्तै, वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीमा औपचारिक पुनरागमनपछि भण्डारीको यो पहिलो विशेष सम्बोधन हुनेछ ।
उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले पनि विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
एमालेले राष्ट्रिय भेलामार्फत पार्टीभित्र राजनीतिक दृष्टिकोणमा एकरूपता कायम गर्ने, संगठनलाई थप सुदृढ बनाउने र आगामी निर्वाचनमा पार्टीलाई प्रभावकारी रूपमा परिचालन गर्ने रणनीति अघि सारेको छ ।
दुई दिनसम्म चल्ने भेलाले पार्टीको आगामी राजनीतिक दिशा र निर्वाचन केन्द्रित रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।
