`

समाजलाई नेतृत्व दिनका लागि विचारधारा आधारित राजनीतिक कार्यदिशा स्पष्ट भएको शक्ति आवश्यक छ : शंकर पोखरेल

Nepal One HD २ माघ २०७९ १७:२०
राजनीति

 काठमाडौँ / नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच वर्षपछि के हुने हो भन्ने ठेगान नभएको दलले मुलुकको समृद्धिको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ ।

पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पोखरेलले ७४ सालको चुनावमा काठमाडौँ उपत्यकामा विवेकशील साझाका नाममा लहड सुरु भएको र चार वर्ष नपुग्दै चुनाव लड्दा जमानत जफत भएको भन्दै आज पनि नयाँ नयाँ प्रयोग गरिएको र पाँच वर्षपछि के हुने हो भन्ने ठेगान नभएकाले मुलुकको समृद्धिको नेतृत्व गर्न नसक्ने बताउनुभएको हो ।

पोखरेलले कुनै पनि समाजलाई नेतृत्व दिनका लागि विचारधारा आधारित राजनीतिक कार्यदिशा स्पष्ट भएको शक्ति आवश्यक रहेको धारणा राख्नुभयो । त्यस्तै उहाँले धेरै राष्ट्रिय दलहरू भए राजनीतिक अस्थिरता, वैदेशिक चलखेल हुने भएकाले मुलुकलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक हुनुपर्ने उल्लेख गर्नुभयो ।

दुनियाँमा कहीँ पनि राजनीतिक दलहरू मिलेर मुलुक बनेको इतिहास नरहेको भन्दै पोखरेलले देश बनाउन राजनीतिक शक्तिको केन्द्र किरण अपरिहार्य हुने तर्क गर्नुभयो । महासचिव पोखरेलले वामपन्थीको सरकारलाई कमजोर पार्न विभिन्न षडयन्त्रहरू हुने गरेको पनि बताउनुभयो । संसद् विघटन काँग्रेसले गर्दा अदालत नबोल्ने र वामपन्थीले ताजा जनादेशमा जाने निर्णय गर्दा अदालत प्रयोग हुने गरेको उहाँको भनाइ छ ।

महासचिव पोखरेलले अहिले पनि राज्य संयन्त्रभित्रको प्रशासनिक ढाँचा पूर्णत लोकतन्त्रीक बन्न नसकेको बताउनुभयो । कार्यक्रममा उहाँले आगामी स्ववियु निर्वाचनमा सङ्गठनलाई जिताउनका लागि आवश्यक भूमिका खेल्न निर्देशन दिनुभयो ।


प्रतिक्रिया