नेपालका विमानस्थल सञ्चालनका लागि भारतसँग पहल


काठमाडौँ । नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूको निर्वाध सञ्चालनका लागि सहज वातावरण बनाउन नेपालले भारतसँग पहल थालेको छ । त्यस क्रममा भारतका लागि नेपालका राजदूत डा. शङ्कर शर्माले भारतको नागरिक उड्डयन तथा स्टिलमन्त्री ज्योतिरादित्य सिन्दियासँग नयाँ दिल्लीमा कुरा गर्नुभएको हो ।
बुधबार भएको भेटमा आफूले ‘महेन्द्रनगर, भैरहवा, सिमराबाट हुने अन्तर्राष्ट्रिय उडानका प्रवेश मार्गबारे सबै कुरा बुझ्ने गरी कुरा राखेको’ राजदूत डा. शर्माले बताउनुभयो तर राजदूतको पहलबाट मात्र समस्या समाधान हुन सक्ने सम्भावना भने छैन ।
शर्माले आफूले ‘राम्रोसँग व्याख्या गरेको’ र मन्त्री सिन्दियाले पनि ‘सकारात्मक रूपमा हेर्छु’ भन्नुभएको भए पनि आफूभन्दा माथिल्लो तहबाट पनि राम्ररी व्याख्या गरी बुझाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले उल्लेख गर्नुभएको आफूभन्दा माथिल्लो तह भनेको कूटनीतिकभन्दा पनि राजनीतिक तहबाट नै समाधानमा पहल थाल्नुपर्ने विषय हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो विदेश भ्रमण भारतबाट हुने बताउनुभएको सन्दर्भमा कूटनीतिक स्तरबाट भएको यो पहलले सकारात्मक नतिजा दिनसक्छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।