`

कुनैपनि हालतमा यो गठबन्धन भत्किदैन : उपप्रधानमन्त्री श्रेष्ठ

Nepal One HD ४ फागुन २०७९ १५:१५
प्रमुख खबर

काठमाडौं – नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो गठबन्धन कुनै नभत्किने प्रष्ट पार्नुभएको छ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहनुभएका श्रेष्ठले बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारमाझ कुराकानी गर्नुहुँदै अहिलेको समीकरणलाई बदल्नु माओवादीको प्राथमिकता नभएको बताउनुभयो । 


श्रेष्ठले प्रतिगमनलाई कुनैपनि हालतमा अगाडि बढ्न नदिने, राष्ट्रियताको रक्षा, समृद्धिको लक्ष्य र शान्ति प्रक्रियाको बाँकी कामसहित चारवटा विषय रहेको प्रष्ट्याउनुभयो ।  मन्त्री श्रेष्ठले भन्नुभयो, ‘यो पुरा गर्नेगरि विश्वासको वातावरण बन्यो भने बाहिरबाट कसैले चाहेर पनि गठबन्धन भत्किँदैन । यदि त्यस्तो खालको परिस्थिति नबनेको खण्डमा माओवादीले चाहँदा वा नचाहँदैमा केही पनि गर्न सकिन्न ।’

सबै दलहरूलाई समेट्ने गरी पार्टी अघि बढ्न चाहेको भएपनि गठबन्धन बदल्ने कुरा नरहेको श्रेष्ठले बताउनुभयो ।  ‘वर्तमान समीकरणलाई बदल्ने प्राथमिकता हाम्रो छैन । सबै दलहरूलाई समेट्ने गरी अघि बढ्न चाहेका छौं । तर, समीकरण बदल्ने कुरा छैन । राष्ट्रपतिको चुनावको विषयमा हाम्रो एउटै भनाई छ, त्यो भनेको प्रधानमन्त्री प्रचण्डलाई सबै पार्टीहरूबाट समर्थन प्राप्त भयो, त्यसका लागि हाम्रा एतिहासिक परिघटना हो । अहिलेको मुलुकाको आवश्यकता राष्ट्रिय सहमतिको स्थितिको सृजना भएको छ । राष्ट्रपति चयन गर्दा त्यो परिस्थितिलाई सम्बोधन गर्न उपयुक्त हुन्छ ।’ श्रेष्ठको भनाई थियो ।


प्रतिक्रिया