मुलुकको वर्तमान राजनीतिक प्रणाली र शासकीय स्वरुपमा पुनर्विचार आवश्यक : कमल थापा


काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको वर्तमान शासकीय स्वरूप र राष्ट्रिय संरचनाको विषयमा पूर्वविचार र विकल्पको बहस गर्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकोले मुलुकको प्रणालीको पुनर्विचार र विकल्पको बारेमा बहस गर्नुपर्ने बताउनुभएको हो ।
थापाले निर्वाचन हुनुभन्दा पहिलाको गठबन्धनलाई जनताले म्यान्डेड दिएको भए पनि त्यो गठबन्धन चुनाव लगत्तै भत्किएर सत्ता स्वार्थमा नयाँ गठबन्धन बनेको आरोप लगाउनुभयो । काँग्रेस नेतृत्वको गठबन्धन पनि अस्वाभाविक र अपवित्र भएको बताउँदै उहाँले नेकपा एमाले नेतृत्वको गठबन्धनमा दुई तर्फ बिचार फर्केका दलहरू भएकोले यो गठबन्धन पनि अस्वाभाविक र अपवित्र नै रहेको जिकिर गर्नुभयो । थापाले अबको राष्ट्रपति हुने व्यक्तिले राजनीतिक स्वार्थ अनुसारका कामहरू गर्न नहुने बताउँदै राष्ट्रपतिले स्वार्थ देखाएकोले दलहरूबिचमा खिचातानी बढेको धारणा राख्नुभयो ।
अध्यक्ष थापाले देशको अर्थतन्त्र निकै कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी दैनिक बढेपनि सरकार सत्ता टिकाउनमा व्यस्त रहेको बताउनुभयो । अध्यक्ष थापाले अहिले राजतन्त्र र राजनीतिक दलहरूका बिचमा आशङ्का र अविश्वासको खाडल रहेको जिकिर गर्नुभयो ।