राष्ट्रपति निर्वाचनको बेलामा विदेशी दौडधूप चलिरहेको प्रति एमाले सांसद पन्तको आपत्ति


काठमाडौँ – एमालेका सांसद रघुजी पन्तले भारतीय विदेशी सचिव विनयमोहन क्वात्राको पछिल्लो नेपाल भ्रमणमा भएका गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन् ।
वुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रपति निर्वाचनको बेलामा विदेशी दौडधूप चलिरहेकोप्रति आपत्ति जनाए ।
उनले भने, ‘राष्ट्रपतिको विषयमा अहिले छलफल भइरहेको छ । तर, दुखको कुरा भारतको पूर्व प्रोफेशरले राष्ट्रपतिमा हाम्रो पूर्व राजदूत, पूर्व सभामुख र पूर्व अर्थमन्त्रीलगायत व्यक्तिको नाम प्रस्तुत गर्छ । कस्तो दिन आयो? हाम्रो मन्त्रीस्तरको राजदूत हुनुहुन्थ्यो निलाम्बरजी । उहाँलाई भारतको परराष्ट्रमन्त्रीसँग भेट्नको लागि पटक पटक ताकेता गर्दा मुस्किलले भेटघाट हुन्थ्यो । तर, राष्ट्रपतिको चुनावअघि यहाँ भारतका विदेशसचिव आउँछन् । उनी राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री सबैलाई भेटाउँछौं ।’
परराष्ट्र मन्त्रालयले विदेशी पदाधिकारीका भेटहरूलाई कसरी गर्ने भन्ने विषयमा निश्चित प्रक्रिया बनाउनुपर्ने पन्तको भनाइ थियो ।