`

हवाई कम्पनीले बक्यौता नतिरे उडान तालिका स्वीकृत नहुने

Nepal One HD १४ फागुन २०७९ ८:०७
समाचार

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फका हवाई कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रियसहित विभिन्न विमानस्थलमा तिर्नुपर्ने बक्यौता नतिरेसम्म नयाँ उडान तालिका स्वीकृत नगर्ने भएको छ ।

चैत १८ गतेदेखि लागू हुने गर्मीयामका उडान तालिकाअनुसार आन्तरिकतर्फका नौवटा हवाई सेवा कम्पनी र ११ वटा हेलिकोप्टर कम्पनीलाई नयाँ तालिकाका लागि स्वीकृति लिनुअघि अनिवार्य बक्यौता तिर्न निर्देशन दिएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नयाँ तालिका स्वीकृतिका लागि सबै विमानस्थलमा बक्यौता नतिरे उडान अनुमति नपाइने निर्णय भएको हो ।

विमानस्थलका सेवा सुविधा प्रयोग गरेबापत विभिन्न विमान कम्पनीले बुझाउनुपर्ने शुल्क समयमा नतिरेपछि प्राधिकरणले उडान तालिका स्वीकृति लिँदा नै कडाइ गर्न लागेको उनले बताए ।

हेलिकोप्टर र हवाई कम्पनीले बुझाउन बाँकी बक्यौता रकम यही फागुन १६ गतेभित्र बुझाउन निर्देशन जारी भएको उनले बताए ।प्राधिकरणका अनुसार हवाई सेवातर्फ नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स, समिट एयर, तारा एयर, गुण एयरलाइन्स, सीता एयरलाइन्स र सौर्य एयरलाइन्सले बक्यौता तिर्न बाँकी छ ।

त्यस्तै हेलिकोप्टरतर्फ एयर डाइनेस्टी, अल्टिच्युड, हेली एभरेस्ट, माउन्टेन हेलिकोप्टर्स, फिस्टेल एयर, सिम्रिक एयर, मनाङ एयर, कैलाश हेलिकोप्टर, श्री एयरलाइन्स, प्रभु हेलिकोप्टर्स र मुस्ताङ हेलिकोप्टरको बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।यो समाचार गोरखापत्र दैनिकमा छ ।


प्रतिक्रिया