`

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री

Nepal One HD १६ फागुन २०७९ ७:२९
समाचार

काठमाडौँ । तत्कालीन सत्ता गठबन्धनका प्रमुख साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बहिर्गमनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संवैधानिक दायित्व थपिएका छन्। उहाँले प्रतिनिधि सभामा फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

त्यसका साथै उहाँले नयाँ गठबन्धनका दलहरूलाई मिलाएर मन्त्रिमण्डल पुनर्गठन पनि गर्नुपर्ने हुन्छ। एमाले, राप्रपा र रास्वपाले लिएका मन्त्रालयसमेत गरी अहिले प्रधानमन्त्रीको जिम्मेवारीमा १६ वटा मन्त्रालयको कार्यभार रहेको छ।

संविधानको धारा १००(२) अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
नयाँ गठबन्धनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र अघिल्लो गठबन्धनमा रहेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्। सरकारलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि गठबन्धनमा सामेल भएको छ। याे खबर गाेरखापत्र दैनिकमा छ ।


प्रतिक्रिया