`

युट्युब र टिकटक लगायत सामाजिक सञ्जालसँग टेलिभिजनहरु डराउन पर्दैन : अध्यक्ष ओली

Nepal One HD १५ चैत २०७९ १५:३०
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब र टिकटक लगायत सामाजिक सञ्जालसँग टेलिभिजनहरु डराउन नपर्ने बताएका छन् ।

बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन । उनले २०४६ को परिवर्तनपछि सञ्चार जगतले व्यापकता लिएको उल्लेख गरे ।

उनले भने, ‘टेलिभिजनहरु युट्युब, टिकटक,फेसबुक आदिसँग तर्सिएको देख्छु, उनीहरुले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्,तिनीहरु व्यक्तिगत ढंगले चलेका हुन् टेलिभिजनहरु टिमवर्कमा चलेका हुन्छन्, सामुहिकतामा आधुनिक प्रविधि प्रयोग गर्दै इमान्दार भएर काम गरे व्यक्तिले चलाउने युट्युब, टिकटक र फेसबुकसँग डराउन हुँदैन ।’

विश्वमै टेलिभिजनको इतिहास धेरै पुरानो नभई १०२ वर्षको मात्रै रहेको र नेपालमा १९८५ देखि श्याम श्वेत टेलिभिजन प्रसारण सुरु भएको उल्लेख गर्दै ओलीले बदलिँदो समय अनुसार नयाँ प्रविधिको प्रयोग गरे सञ्चार माध्यमको प्रभावकारिता बढ्ने सुझाव दिए ।


प्रतिक्रिया