सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ : माधवकुमार नेपाल


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो रहेको बताएका छन् ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उपेन्द्र यादवका लागि मत माग्न बुधबार साँझ बारा- २ मा पुगे नेपालले यस्तो बताएका हुन् ।
उनले भने, ’यादवको जित सुनिश्चित छ।, सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एकीकृत समाजवादीको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु ।’
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै नेता नेपालले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरुको समयानुकूल विकास गर्न संसदमा जसपा अध्यक्ष यादवको उपस्थिति अपरिहार्य रहेको जिकिर गरे।