कानुनी छिद्र टाल्न मेरो उम्मेदवारी : सर्वेन्द्र खनाल


काठमाडौं / बैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ हुने उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले कानुनका छिद्रको उपयोग गरेर गरिने अपराध नियन्त्रण अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ ।
बिहीबार नेकपा एमाले बन्दिपुर गाउँपालिकाको विस्तारित बैठकलाई सम्बोधन गर्दै खनालले कानुनको छिद्रलाई उपयोग गर्दै अपराध गर्नेहरूको एक एक लिष्ट आफूसँग भएको बताउनुभयो । आफ्नो मुख्य ध्यान कानुनका छिद्र टाल्नेमा केन्द्रित रहेको उहाँले बताउनुभयो । ‘त्यसकालागि संसदमा पुग्न आवश्यक छ, त्यसैले म प्रतिनिधि सभा निर्वाचनको मैदानमा आएको हुँ’, खनालले भन्नुभयो ।
खनालले प्रहरी सेवाको क्रममा आफ्नो मुख्य ध्यान अपराध नियन्त्रण, सुशासन, भ्रष्टाचार नियन्त्रण, गुण्डाराजको अन्त्य, मिटरब्याजीलाई निस्तेज पार्न, विद्युत् चुहावट, म्याच फिक्सिङ, मानव बेचबिखन, दाइजो प्रथा जस्ता कुरीति र अपराध नियन्त्रणमा केन्द्रित रहेको बताउनुभयो । त्यस्ता अपराधीको विरुद्ध प्रहरीले मुद्दा चलाए पनि कानुनका छिद्र प्रयोग गरेर उनीहरूले उन्मुक्ति पाउने गरेको उहाँले सुनाउनुभयो ।
त्यस्ता अपराधी अहिले पनि राजनीतिको मूलधारमा रहेको उहाँले बताउनुभयो । त्यसको एक एक हिसाब आफूसँग रहेको उहाँले दाबी गर्नुभयो ।
खनालले राजनीतिमा सुद्धिकरणको लागि आफू राजनीतिमा प्रवेश गरेको बताउनुभयो । राजनीतिमा भएको विकृतिको अन्त्य र तनहुँको विकास आफ्नो प्राथमिकतामा रहेको उहाँले प्रष्ट पार्नुभयो ।
आफू सांसद बनेपछि अपराधीलाई कडा कारबाही गर्ने कानुन बनाउन पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । देश र जनताको लागि काम गर्ने बाहेक आफ्नो कुनै स्वार्थ नरहेको उहाँले प्रष्ट पार्नुभयो ।