`

राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि बढ्दैन : सञ्चारमन्त्री शर्मा

Nepal One HD २४ चैत २०७९ १६:५८
राजनीति

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नबढ्ने स्पष्ट पार्नुभएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले दूरसञ्चार ऐनलाई लिएर भ्रमपूर्ण विषय बाहिर आइरहेको भन्दै राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नबढ्ने बताउनुभएको हो । मन्त्री शर्माले दूरसञ्चार विधेयक प्रारम्भिक मस्यौदा तयारीको अवस्थामा रहेकाले गलत काम हुन नदिने र गर्न नदिनेमा आफू स्पष्ट रहेको जिकिर गर्नुभयो ।

दूरसञ्चार ऐनलाई अन्तिम रूप दिनका लागि सरोकारवालाहरूसँगको छलफल र यसअघिको कानुनलाई टेकेर मात्रै अघि बढ्ने उहाँले बताउनुभयो । दूरसञ्चार ऐन २०५३ लाई खारेज गरेर नयाँ दूरसञ्चार विधेयक तर्जुमा गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट स्वीकृति प्राप्त गरिसकेको जानकारी दिँदै मन्त्री शर्माले उक्त विधेयकको विषयमा प्रारम्भिक मस्यौदा तयार गर्न छलफल सुरु भएको बताउनुभयो । 

त्यस्तै उहाँले दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गरी सर्वसुलभ र सबैको  पहुँचमा पु¥याउनका लागि काम भइरहेको जानकारी दिनुभयो । 


प्रतिक्रिया