`

चार हप्ता चार्टर्ड उडानबाट चिनियाँ पर्यटक आउँदै

Nepal One HD १ वैशाख २०८० ७:१४
समाचार

काठमाडौं । कोभिड १९ पछि पहिलोपटक नेपालमा चिनियाँ पर्यटक विमान चार्टर गरेर आएका छन् । हिमालय एयरलाइन्सको विमान चार्टर गरेर बिहीवार १८० चिनियाँ नेपाल आए। आगामी चार साता हप्ताको १ दिन यही संख्यामा चार्टर उडानबाट चिनियाँ आउनेछन् ।

हरेक हप्ता १ दिन चिनियाँ पर्यटक विमान चार्टर गरेर नेपाल ल्याउने नेपाल बिग माउन्टेन (एनबीएम) ट्राभल कम्पनीले जानकारी दिएको हो । हरेक उडानमा १८० जना हुनेछन् । सन् २०२३ को मार्च १५ देखि चीन सरकारले आफ्ना नागरिक घुम्न जाने देशको सूचीमा नेपाललाई राखेसँगै त्यहाँबाट आउने पर्यटक बढेका हुन् ।

चीन सरकारले आधिकारिक सूचना जारी नगरे पनि त्यहाँबाट नेपालमा पर्यटक आइरहेका छन् । तर, चीन सरकारको उक्त निर्णयपछि विमान नै चार्टर गरेर उनीहरू आउन थालेका हुन् ।

एनबीएमका अध्यक्ष सुदर्शन नेपालले चीन सरकारले नेपाललाई घुम्न पर्ने देशको सूचीमा राखेको छोटो अवधिमै पर्यटक ल्याउन सकिएको बताए ।’हामीले चार्टर उडानबाट पर्यटक ल्याउन शुरू गरिसकेका छौं,’ नेपालले भने, ‘अझै चिनियाँ पर्यटक नेपाल आउने पर्खाइमा छन् ।’ यो समाचार आर्थिक अभियान दैनिकमा छ ।


प्रतिक्रिया