प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउन प्रमुख तीन दलबीच सहमति
काठमाडौं – संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउन प्रमुख तीन दलबीच सहमति भएको छ ।
सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच सहमति भएको हो ।
बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको बैठकपछि कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
बैठकपछि नेता लेखकले सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको भन्दै न्यायपालिका लामो समय यो स्थितिमा रहनु हुँदैन भनेर प्रधानमन्त्री प्रचण्डले छिटो प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ताव राखेको जानकारी दिए ।
सो प्रस्तावमा संवैधानिक परिषदको बैठक बोलाएर नियुक्ति प्रक्रिया अघि बढाउन भनिएको लेखकले बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले उपयुक्त समयमा बैठक बोलाउने छन् । बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि अघि बढाउने विषयमा पनि छलफल भएको उनले जानकारी दिए । छलफलमा संसदीय समितिलाई पूर्णता दिने विषयमा पनि कुराकानी भएको एमाले सचेतक महेश वर्तौलाले जानकारी दिए ।
