`

संघीय निजामती सेवा ऐन सरकारको प्राथमिकतामा छ : सञ्चारमन्त्री शर्मा

Nepal One HD ४ वैशाख २०८० १६:२७
राजनीति

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर सरकारले अघि बढाउन लागेको जानकारी दिनुभएको छ ।

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले संघीय संरचनाको सफल कार्यान्वयनका लागि सरकारले आवश्यक कानुनलाई प्राथमिकतामा राखेको भन्दै संघीय निजामती सेवा ऐन कानुन मन्त्रालयमा अन्तिम चरणमा रहेको जानकारी दिनुभएको हो ।

उहाँले छिटै मन्त्रीपरिषद्बाट उक्त विधेयकलाई संसदलाई प्रस्तुत गर्ने निर्णय हुने बताउनुभयो । कर्मचारीको व्यवस्थापन ठिक ढङ्गले हुन सक्दा छिटो छिटो कर्मचारीको सरुवा देखि अनेक समस्या देखा परेको भन्दै मन्त्री शर्माले संघीय निजामती सेवा ऐन अधिकांश समस्याहरूलाई समाधान गर्ने जिकिर गर्नुभयो ।

त्यस्तै उहाँले पूर्वाधार निर्माणमा देखिएका समस्याहरूका विषयमा मन्त्रीपरिषद्मा गम्भीर रूपमा छलफल भएको र सार्वजनिक खरिद ऐनलाई संशोधन गरी विभिन्न समस्याहरू समाधान गर्न सरकारले तयारी गरिरहेको बताउनुभयो ।

मन्त्री शर्माले पशुपति क्षेत्र विकास कोषलाई पारदर्शी रूपमा सञ्चालन गर्नका लागि कोषको गुरुयोजना निर्माणका लागि निर्देशन दिइसकेको र अहिले कार्ययोजना अनुसार काम भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री शर्माले समितिले दिएका निर्देशन र सुझावहरूलाई कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसअघि बैठकमा समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्यहरूले समितिहरूले गम्भीर रूपमा छलफल गरेर सरकारलाई निर्देशन र सुझाव दिँदा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरेका थिए । बैठकले पूर्व सांसद एवं नेपाली काँग्रेसका नेता तेजमान तुम्बाहाम्फेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक वैशाख ५ गते बोलाइएको छ ।


प्रतिक्रिया