`

नागरिक उन्मुक्ति पार्टीसहित चार पार्टीबीच एकता घोषणासभा

Nepal One HD १८ वैशाख २०८० २१:१५
राजनीति

मोरङ – नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच आज यहाँ पार्टी एकता घोषणासभाको आयोजना गरिएको छ ।

उन्मुक्ति पार्टीकी राष्ट्रिय अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, समाजका संयोजक त्रिनारायण राजवंशी र अध्यक्ष दिनेशराज राजवंशी र अभियानका विनोद पाण्डेद्वारा १० बुँदे पार्टी एकतामा हस्ताक्षर गर्नुभएको छ ।

भूमि व्यवस्थामन्त्री चौधरीले एकता घोषणासभाको उद्घाटन गर्दै यो पार्टी दमनको विरुद्धमा जन्मिएको बताउनुभयो । उहाँले विगतमा सुदूरपश्चिमको टिकापुरमा भएको घटना मुलुकको अन्य ठाउँमा नहोस् भन्नका लागि हामी एकजुट हनुपर्नेमा जोड दिनुभयो । मन्त्री चौधरीले राजबन्दी रिहाइ र जनताको विकासप्रतिको चाहना पूरा गर्न निर्वाचनमा प्रतिस्पर्धा गरी सदन र सरकारमा सहभागी भएको प्रष्ट पार्नुभयो ।

सङ्घीय लोकतान्त्रिक मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष एवि पण्डाक लिम्बू, उन्मुक्ति पार्टीका उपाध्यक्ष दामोदर पण्डित, कोचिला सङ्घर्ष समितिका अध्यक्ष चौधरी लगायतकाले पहिचानवादी एकजुट भई उत्पीडन, विभेद र पछाडि परेका जातजातिलाई माथि उठाउनुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया