`

सुदन किराँतीले भने : पापीहरुले म माथी घेराबन्दी गरे

Nepal One HD २५ जेठ २०८० १५:१०
प्रमुख खबर

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पापीहरुले आफुमाथी घेराबन्दी गर्दै आएको दाबी गरेका छन् ।

आज खोटाङको दिक्तेल बजारमा अग्नि नियन्त्रण यन्त्र उद्घाटनका क्रममा उनले जहाज किन्न नदिन ‘पापी मनहरु’ले आफूविरुद्ध घेराबन्दी भैरहेको बताएका हुन् ।

उनले भने, ‘हामी तीनवटा जहाज किन्ने प्रकृयामा छौँ । तर, हवाइजहाज किन्न नदिन संसारभरका पापी मनहरुले घेराबन्दी गरिरहेका छन्, तपाईहरुको साथ पाएँ भने प्रक्रिया र प्रणालीमा पारदर्शी तरिकाले पाँच पैसा घोटाला हुन नदिनेगरी जहाज ल्याउँछौँ ।’

किराँतीले खरिद गरेर ल्याइने दुईवटा जहाज पश्चिम नेपालमा र एउटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाउने पनि जानकारी दिएका छन् । जहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा विमानस्थलमा एकजना सुत्केरी राखेर भए पनि उडान भर्ने उनको अठोट छ ।

आफूले मन्त्रालय सम्हालेको करिब तीन महिनामै चार अर्ब ऋण घटाएको पनि मन्त्री किराँतीले चर्चा गरे ।

‘मन्त्री भएर जाँदा हवाइजहाज त बेहोस अवस्थामा भेन्टिलेटरमा सुतिरहेको रहेछ । त्यसलाई हामी उपचार गर्दैछौँ,’ उनले भने, ‘२२ वटा एयरपोर्ट गौचरणमा परिणत भएको छ । कारण जहाजमाथि ठूलठूलो भ्रष्टाचार भए । पापीको आँखा लागे, लुट्नैसम्म लुटिए । खाने पिउने रमाउने ठाउँ भए ।’


प्रतिक्रिया