`

देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केहि गर्न सक्दैँन: अध्यक्ष ओली

Nepal One HD २७ जेठ २०८० १६:४६
प्रमुख खबर

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केहि पनि गर्न नसक्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको दोश्रो राष्ट्रिय महिला भेला उद्घाटन गर्दै अध्यक्ष ओलीले भारत भ्रमणका बेला आफ्नो भूमि रक्षाका लागि प्रधानमन्त्रीले केहि पनि बोल्न नसकेको, नेपालका नदिहरु भारतलाई सितैमा सुम्पेर आएको भन्दै राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केहि पनि गर्न नसक्ने बताउनुभएको हो । उहाँले एमालेको सरकार परिवर्तन भएपनि दुई वर्षमा ८ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था आएको जिकिर गर्नुभयो । सरकारसंग विकासको कुनै योजना र स्रोत पनि नरहेको भन्दै ओलीले सरकार र सरकारमा रहेका दलहरु एमालेको बिरोधमा मात्रै लागेको उल्लेख गर्नुभयो । उहाँले आफु नेतृत्वको सरकार ढाल्ने, पार्टी फुटाउने लगाएतका अनेक षडयन्त्र भएपनि एमाले जस्ताको त्यस्तै रहेको र आगामी निर्वाचनमा एमालेले देशका लागि बहुमत ल्याउने गरि तयारी गर्ने बताउनुभयो । त्यस्तै ओलीले पुराना योगदान, त्याग र बलिदानका विरुद्ध अभियान सञ्चालन गर्न खोजिएको भन्दै इतिहासलाई सम्मान गर्न जान्नुपर्ने बताउनुभयो ।

उहाँले मुलुकमा ठूला ठूला परिवर्तन ल्याएपनि युवाहरुलाई परिवर्तनका बारेमा बुझाउनुपर्ने बताउनुभयो । ओलीले जनताका काममा समर्पित हुनका लागि कार्ययोजनासहित अघि बढ्न कर्मचारी संगठनलाई निर्देशन दिनुभयो ।


प्रतिक्रिया