`

टोपबहादुरको सांसद पद निलम्बन

Nepal One HD १ असार २०८० १९:२९
प्रमुख खबर

काठमाडौं / नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको छ।

नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका रायमाझीलाई जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा पठाएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको हो ।

प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३ ले फौजदारी अभियोगमा पक्राउ परेको सांसद पूर्पक्षका लागि थुनामा गएमा थुनामा रहेको अवधिभरका लागि निलम्बनमा रहने व्यवस्था गरेको छ ।

नियम १४८ को उपनियम (३) मा भनिएको छ, “प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।”

रायमाझीको पद निलम्बनमा परे पनि उनको पद भने गएको छैन । अब अदालतमा हुने बहसपछि अदालतले उनलाई अहिले लागेको अभियोग प्रमाणित भएमा भने उनको पद रिक्त हुनेछ ।


प्रतिक्रिया