`

सरकारको प्राथमिकता पर्यटन र जलविद्युत् : मुख्यमन्त्री थापा

Nepal One HD २ भदौ २०८० १८:३९
राजनीति

मोरङ/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन र जलविद्युत्को विकास प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताउनुभएको छ ।

नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको ११औँ वार्षिक साधारणसभा तथा सातौँ वार्षिक अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशमा २० हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन हुने विश्वास व्यक्त गर्दै त्यसको सदुपयोग गर्ने बताउनुभयो ।

मुख्यमन्त्री थापाले निजी क्षेत्र जलविद्युत्मा लगानी गर्न तयार रहेको आफूले पाएको उल्लेख गर्दै आवश्यक कानुन निर्माण गरी यस क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने विश्वास दिलाउनुभयो ।

कोशी प्रदेशमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा र सबैभन्दा होचो स्थान कचनकवललाई आवश्यक प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिँदै उहाँले यस क्षेत्रमा बाह्य पर्यटकलाई आकर्षित गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभयो ।

नाट्टाका प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठ र सचिव पुण्य भट्टराईले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले सरकारलाई सदैव साथ सहयोग दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रतिक्रिया