नेपालबारे भारतमा कस्तो बुझाइ छ ? समस्या कहाँ छ?
भारत स्वतन्त्र हुनु केही साता अघि ब्रिटेनका फिल्ड मार्शल लर्ड मोन्टगमरीलाई तत्कालीन भारतीय प्रधानमन्त्री जवाहारलाल नेहरुले नेपालसँग जोडेर भेनेको कुरा परराष्ट्र मामिलाका कैयौँ विज्ञहरूले अझ सम्झिरहन्छन्।
सन् १९४७ को गर्मीयाममा भएको भेटमा नेहरुले भनेका थिए, “नेपाल स्वतन्त्र देश भए पनि संस्कृति र परम्पराका हिसाबले उ भारतसँग ज्यादै निकट छ र हामीले उसलाई कुनै विदेशी राष्ट्रका रूपमा हेरेका छैनौँ।”
दुई देशको ‘निकट सम्बन्ध’ भविष्यमा अझ बढ्ने आशयसाथ नेहरुले त्यस बेला उक्त धारणा राखेका थिए।तर त्यस यताका वर्षहरूमा नेपाल भारत सम्बन्धमा कैयौँ गम्भीर उतारचढाव आएका छन् जसले दुई देशबीच एक अर्काको बुझाइबारे समेत प्रश्नहरू खडा गर्ने गरेको पाइन्छ।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले असन्तुष्टि जनाएका कारण तीनै नेहरुले ‘नेपाल र भुटानमाथिको कुनै पनि हमलालाई भारतमाथिको आक्रमण मानिने’ भन्ने अभिव्यक्तिबारे प्रस्टीकरण नै दिनुपरेको थियो।
एक अर्कालाई घनिष्ठ छिमेकीका रूपमा सार्वजनिक रूपमा प्रस्तुत गर्ने नेपाल र भारत पछिल्ला वर्षहरूमा पनि आपसी बुझाइमा देखिएका कैयौँ समस्याहरूसँग जुझिरहेका छन्।कतिपय गलत बुझाइले दुवै देशमा ‘उग्र राष्ट्रवादी’ भावना निम्त्याएको विज्ञहरू बताउँछन्।
समस्या कहाँ छ?
तीन दिशामा भारतसँग साँध कायम भएको भूपरिवेष्टित नेपालको सिमाना बिहार, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बङ्गाल र सिक्किम राज्यहरूसँग जोडिएको छ।दशौँ लाखको सङ्ख्यामा नेपालीहरू भारतमा रोजगारीमा छन् भने लाखौँको सङ्ख्यामा भारतीयहरू नेपालमा काम गर्दै बसिरहेका छन्।
चीन र पाकिस्तानसँगको तनावग्रस्त सीमा क्षेत्रमा खटिने गोर्खा सैनिकको साहसदेखि आफ्ना घरमा काम गर्ने सहयोगी र पशुपतिनाथजस्ता नेपालका तीर्थस्थलका कारण पनि कैयौँ भारतीयले नेपालबारे थाहा पाएका छन्।
तर नेपाल भारत सम्बन्धमा गहिरो दक्खल राख्ने विज्ञहरू निकट छिमेकी भएपनि नेपाल र भारतमा एक अर्काको बारेमा ज्ञानको दायरा कमजोर रहेको ठान्छन्।
भारतस्थित नेपाल मामिला विज्ञ प्राध्यापक एसडी मुनीका अनुसार नेपाल र भारतबारे दुवै देशका नागरिकहरूमा कैयौँ अस्पष्टताहरू छन्।
मुनीले बीबीसी न्यूज नेपालीसँग भने, “भारतमा सबै जनाले नेपाल हाम्रै हो भन्ने किसिमले सोच्छन्। त्यसो गर्दा उनीहरूले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतालाई समेत भुलिदिन्छन्। नेपालको समाज र राजनीतिमा जस्ता विकासक्रम भइरहेका छन् त्यो उनीहरूले न अध्ययन गर्छन् न बुझ्छन्।”
प्राध्यापक मुनी जस्ता कैयौँ विज्ञहरू संस्कृति, भूगोल र इतिहास जस्ता आधारले भारतमा नेपालको पहिचान तय गरिरहेको ठान्छन्।
त्यस्तै मध्येकी एक हुन नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धकी सिनिअर असिस्टेन्ट प्रोफेसर गीता कोछड।उनका अनुसार धेरै भारतीयहरूले ऐतिहासिक अवधारणाहरूलाई हेरेर नेपालबारे जानकारी पाएका छन् र त्यसमा भारतीय चलचित्र र गीतहरूले पनि एउटा दृष्टिकोण निर्माण गरिदिएका छन्।
उनी भन्छिन्, “भारतीय आभिजात्य वर्गमा (नेपालबाट आएका) सुरक्षा गार्ड, घरेलु कामदार विश्वसनीय हुन्छन् भन्ने एक किसिमको भावना पाइन्छ। ‘कान्छी रे कान्छी’जस्ता कतिपय गीतहरूले नेपाली किशोरीबारेका एउटा तस्बिर प्रस्तुत गर्यो भने सन् ८० र ९० को दशकको प्रारम्भको जीप्सी संस्कृतिका कारण नेपाली संस्कृति स्वतन्त्र र खुला खालको छ भन्ने भावना भारतीयहरूमा रहनपुग्यो।”
विगतमा रहेको उक्त भावना हालैका वर्षमा अत्याधिक मात्रामा देखा परेको भारतविरोधी सङ्गठन र नयाँ नक्साको विवादले प्रभावित भएको उनको भनाइ छ।
“भारतमा कतिपय राष्ट्रवादीहरू त्यसलाई नेपालीहरूबाट पाएको धोका भन्ने ठान्छन्। तर कसैले पनि नेपाल र भारत सांस्कृतिक र सामाजिकरूपमा एक अर्कासँग नजिक रहेको कुरा अस्वीकार गर्दैनन्।”उनका अनुसार अधिकांश नेपालीहरू ज्यादै गरिब छन् भन्ने आम बुझाइ भारतमा छ जुन त्रुटिपूर्ण हो।
ध्यानमा नपरेका तथ्य
सन् २०२२ मा सार्वजनिक गरिएको बहु आयामिक गरिबी सूचकाङ्कका अनुसार कुल जनसङ्ख्याको १७.७ नेपालीहरू गरिबीको रेखामुनी छन्।हालै विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक बनेको भारतले गरिबी घटाउन उल्लेख्य प्रगति गरेको भएपनि त्यहाँ अझै पनि झन्डै २३ करोड मानिसहरू गरिबीको रेखामुनि रहेका ग्लोबल मल्टिडाईमेन्सल पभर्टी इन्डेक्समा उल्लेख छ।
सन् २०२१ मा भारतबाट नेपाल भित्रिएको अनुमानित रेमिट्यान्स रकम २ खर्ब ९ अर्ब रुपियाँ पाइएको छ।त्यसै गरी नेपालबाट अनुमानित २ खर्ब ११ अर्ब रुपियाँभन्दा केही बढी रकम भारतमा विप्रेषणका रूपमा पठाइएको वर्ल्ड ब्याङ्कको बाइलेटरल रेमिट्यान्स म्याट्रिक्समा उल्लेख छ।
तर यस्ता विषयहरू दुवै देशका नीति निर्माताका नजरमा खासै नपरेको कैयौँ विज्ञहरूलाई लाग्छ।प्राध्यापक मुनी थप्छन्, “भारतमा (नेपालका) जसको ठूलो व्यवसाय वा स्वार्थ छ उनीहरू सधैँ राम्रो सम्बन्ध राख्न चाहन्छन्। तर यहाँ गरिब मानिसहरू पनि छन् जसलाई राम्रो व्यवहार गरिएको छैन र उनीहरूमा आक्रोश पनि छ। तर मलाई लाग्छ आमरूपमा नेपालीहरूले भारतलाई सहयोग र समृद्धिको स्रोतका रूपमा नै लिएका छन्।”
फोर्ब्स पत्रिकाको अनलाइन संस्करणका अनुसार कुल गार्हस्थ उत्पादन ३,७५० अर्ब डलरसहित भारत सन् २०२३ मा विश्वकै सबैभन्दा पाँचौँ ठूलो अर्थतन्त्र भएको देश बनेको छ।भारतीय सेनाको गोर्खा रेजिमेन्टमा लामो समय काम गरेका पूर्व मेजर जेनरल अशोक मेहता नेपाललाई नजिकबाट चिन्ने भारतीय विज्ञमा पर्छन्।
उनी भन्छन्, “यहाँ कस्तो दृष्टिकोण छ भने जब नेपालीहरू भारतमा आउँछन्, उनीहरू एबीसी बन्छन्। एको अर्थ आया (आयो), बी अर्थ बाबर्ची (भान्छे) र सीको अर्थ चौकीदार। भारतमा धेरै जनालाई नेपालीहरू काम र अन्य अवसरको सिलसिलामा अमेरिकादेखि अस्ट्रेलिया र क्यानडासम्म पुगिसकेको थाहा नै छैन।”समाचार बीबीसी न्यूज नेपालीबाट लिइएको हो ।
