राष्ट्रपति सीको किताब जलाएकोमा चीनको चासो, जलाउनेलाई कारबाही गर्न गृहको निर्देशन
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको घटनाप्रति चीनले चासाे राखेकाे छ ।
नेपालस्थित चिनियाँ दूतावासमार्फत चासो देखाएकाे हाे । दूतावासले कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयमा चासाे राखेपछि गृह मन्त्रालयले घटनामा संलग्नलाई कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।
मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको हो ।
सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न दोषीलाई कानुनी दायरामा ल्याउन मोरङको प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई गृहमन्त्रालयले निर्देशन दिएको छ ।
चिनियाँ राष्ट्रपति सीकाे किताब केही दिनअघि मोरङको मनमोहन टेक्निकल इन्टच्युटमा जलाएकाे भिडियाे सार्वजनिक भएकाे थियाे । यसप्रति चीन रुष्ट छ ।
दुई देशबीचकाे सम्बन्धमा असर पुर्याउने खालकाे यस्ता गतिविधि हुँदासमेत प्रधानमन्त्री सुशीला कार्की माैन छिन् ।
