परिमाण बढाएर एलपी ग्यास बिक्रीबारे लेखा समितिको चासो


काठमाडौ– संसदको सार्वजनिक लेखा समितिले अनाधिकृत रुपले ५० देखि ४५० किलोसम्मको एलपी ग्यास बिक्रि भइरहेको बारे चासो राखेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा सदस्यहरुले यसबारेमा चासो राखेका हुन् ।
समिति सदस्य एवं नेकपा एमालेका सांसद योगेश भट्टराईले अनाधिकृत रुपले ५० देखि ४५० किलोसम्मका
एलपी ग्यास बिक्रि भइरहेकोले सरोकारवाला निकायको ध्यानाकर्षण गराए । बैठकमा भट्टराईले सम्बन्धित मन्त्रालय र आयल निगमसंग अनुमति नलिई केहि कम्पनीले बढी तौलका खाना पकाउने ग्यास बिक्रि गरिरहेको र यसले जोखिम उत्पन्न हुने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
खाना पकाउने ग्यास १४.२ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढि तौलको ग्यास बिक्रि भइरहेकोले यसबारेमा पनि सरोकारवाला निकायसंग समितिले छलफल गर्नुपर्ने उनको भनाइ छ ।
बढि तौलका ग्यास सिलिण्डरमा गुणस्तर चिन्ह नभएको र १४.२ किलोको सिलिण्डरको थिकनेस र ५० देखि ४५० केजीसम्मका ग्यास सिलिण्डरको थिकनेस एउटै रहेको भन्दै उनले यसबाट ठूलो दुर्घटना निम्ताउन सक्ने जोखम औंल्याए ।