`

एकताको लागि माओवादी केन्द्र नाम फेर्न तयार

Nepal One HD १ असोज २०८० १७:३८
प्रमुख खबर

काठमाडौ– नेकपा (माओवादी केन्द्र) पार्टीको नाम फेर्न तयार देखिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टी कमिटीमा आन्तरिक सर्कुलर जारी गर्दै अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताका लागि पार्टीको नाम परिवर्तन गर्न तयार भएको जानकारी दिएका हुन् ।

‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गम्भिर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’ भदौं २५ गते पेरिसडाँडामा बसेको पदाधिकारी बैठकको निर्णय पार्टी कमिटीमा पठाइएको सर्कुलरमा भनिएको छ ।

संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सांसदहरुलाई संसदको बैठक र विषयगत समितिका बैठकहरु प्रभावित नहुने गरी तीन महिने अभियानमा उपत्यकामा जिम्मेवारी दिने समेत माओवादीले निर्णय गरेको छ ।

पछिल्लो समय माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित विचार मिल्ने दलहरुसँग एकताको प्रयास गरिरहेको छ । एकता प्रक्रियामा जान अन्य दलले नामलाई लिएर विमती जनाएपछि माओवादीको यस्तो निर्णय आएको हो ।


प्रतिक्रिया