लामाचौर राष्ट्रिय भलिबल कपको उपाधि गण्डकीलाई


कास्की– पोखरामा सम्पन्न ‘लामाचौर कप महिला तथा पुरुष’ राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा–१६ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा भदौ २९ देखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा नेपाल प्रहरीको पुलिस क्लबमाथि कठिन जित निकाल्दै घरेलु टोली गण्डकीले उपाधि जितेको हो ।
गण्डकीले विभागीय टोली नेपाल पुलिसलाई ३–२ सेटमा हराएको हो । उपाधि विजेता गण्डकीले एक लाख ५० हजार एक सय ११ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त ग-यो । गत वर्ष पनि यी दुवै टोली फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार आधा÷आधा बाँडेर लिएका थिए । सोमबार फाइनल खेल सुरु भए पनि अँध्यारोका कारण खेल रोकिएको थियो ।
प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको पुलिसले एक लाख एक सय ११ रुपैयाँ पुरस्कार पायो । प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले तृतीय हुँदै ५० हजार रुपैयाँ पुरस्कार पायो । प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । यस्तै गण्डकीका हरि पाण्डे (बेस्ट ब्लकर), किरण गुरुङ (बेस्ट स्पाइकर) र रमेश केसी (बेस्ट कोच) घोषित हुनुभयो ।