मनाइयो सूर्यविनायक गणेश जन्मोत्सव जात्रा
भक्तपुर, २ असोज : गणेश जन्मोत्सवका अवसरमा सूर्यविनायक गणेश मन्दिरबाट आज गणेश जन्मोत्सव जात्रा एवं गणेश रथ यात्रा गरी टोलटोलमा गणेशको मूर्ति विराजमान खटलाई टोलटोलमा परिक्रामा गराई मनाइएको छ ।
भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा आज सूर्यविनायक नगरपालिका–६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई सुरु भएको गणेश जन्मोत्सव जात्रा साँझ सम्पन्न भएको हो ।
सूर्यविनायक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लबको संयुक्त आयोजनामा भएको सूर्यविनायक गणेश अर्थात् इनरे गणेद्यो खट जात्रा बिहान गणेश मन्दिरबाट सुरु भई दिनभर टोलटोलमा परिक्रमा गराई साँझ सम्पन्न हुने सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पुर्खाले मनाउँदै आएको गणेश जन्मोत्सव जात्रा आर्थिक स्रोत नहुँदा वर्षौंदेखि रोकिएको थियो, विगत चार वर्षदेखि सुरु भएको यो जात्रा यस वर्ष पनि हजारौँ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोलटोल पुर्याएर हर्षोल्लासका साथ मनाइएको छ । यो जात्रालाई अब हरेक वर्ष सञ्चालन गर्नेछौँ ।”
गत वर्ष जात्रा मनाउन नगरपालिकाको वडा नं ६ र ८ ले तीन तीन लाख गरी छ लाख रुपैयाँको बजेटको व्यवस्थापन गरेको छ । जात्रा दुईवटै वडाका केही भागको परिक्रमा गर्ने परम्परा रहेको छ भने जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने गुठी पनि दुईवटै वडाका क्षेत्रमा रहेको छ । त्यसैले पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्त्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुईवटै वडाले बजेट विनियोजन गरेको हो ।
गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको सूर्यविनायक गणेश (इनरे गणेद्यो) को लोपोन्मुख जात्रालाई बर्सेनि निरन्तरता दिइने सूर्यविनायक युवाक्लबका अध्यक्ष मनोज गिरीले बताउनुभयो ।
गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोलटोलमा घुमाएर पुनःमन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिने परम्परा छ ।
खट जात्राका क्रममा बिहान मन्दिरमा विधिवत् पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखेर त्यसपछि खट जात्रा गीर टोलटोलमा परिक्रमा गराएको वडा नं ७ का वडाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।
गणेशलाई रथारोहण गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराएको उहाँले बताउनुभयो । जात्रामा यस वर्ष गत वर्षभन्दा तेब्बर मानिसको सहभागिता रहेको र जात्रामा महिला तथा पुरुषले अबिर खेल्दै मनाएका छन् ।
काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भनिन्छ । समितिअनुसार यस गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको छ । गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्काः (बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र त्यहाँ वैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको छ ।
