`

सुशासन कायम गर्दै शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन नसके चलखेल हुन्छ : प्रदेश प्रमुख गुरुङ

Nepal One HD ३ असोज २०८० १४:०८
राजनीति

पोखरा – गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सुशासन कायम गर्दै शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन नसकेमा परिवर्तन विरोधीले चलखेल गर्ने मौका पाउने बताउनु भएको छ । गण्डकी प्रदेश सरकार मुल समारोह समितिले बुधबार पोखरामा आयोजना गरेको संविधान दिवस २०८० को कार्यक्रममा सम्बोधन गर्दै उहाँले जनताले खोजेको सङ्घीयता कार्यान्वयन हुन नसकेमा परिवर्तन विरोधीले चलखेल गर्ने मौका पाउने बताउनु भएको हो ।

सुशासन विकास समृद्धि प्राप्तीको लागि संविधानको व्यवहारिक कार्यान्वयनमा ध्यान दिन जरुरी रहेको उहाँको भनाई थियो । स्वदेशमै नै रोजगारको अवसर सृजना गर्नको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई लगायतका क्षेत्रमा व्यापक र दूरगामी महत्वका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक भएको प्रदेश प्रमुख गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो “सुशासनको विषयमा हामी दह्रोसँग उभिन नसक्दा भ्रष्टीकरण तर्फ उन्मुख हुने होकी भन्ने सर्वत्र चिन्तक समेत बढ्न थालेको छ, प्रदेश सरकारका लागि आवश्यक महत्वपूर्ण कामहरू अझै गर्न नसकेको भनेर प्रश्न समेत उठी रहेकोले सहमति, सहकार्य र एकता गर्दै अघि बढ्न आजको आवश्यकता छ । ” संघ, प्रदेश र स्थानीय सरकारले पहिलो प्रथामिकतामा राखेर जनताले खोजेको अझै महत्वपूर्ण काम गर्न नसकेको जनगुनासो आएको उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले जनतालाई सर्वोपरि हितमा राखेर काम गर्नुपर्ने आजको आवश्यकता भएको बताउनु भयो ।

नेपालको संविधान व्यापक जनसहभागिता सहित निर्वाचित संविधान सभाद्वारा जारी गरिएको ऐतिहासिक संविधान भएको उहाँले दाबी गर्नुभयो । वर्तमान संविधानले सामाजिक निरङ्कुश र समाजका सबै प्रकारका विभेद र निरङ्कुश केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सृजित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक सांस्कृतिक तथा भौगोलिक विविधताले युक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सुत्रमा आबद्ध गरेको प्रदेश प्रमुख गुरुङले दाबी गर्नु भयो । नागरिक स्वतन्त्रता, नागरिक अधिकार, मौलिक अधिकार वालिका मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका कानूनी राज्य जस्ता लोकतन्त्रका मुल आधारभूत मूल्य र मान्यताको जगमा दिगो शान्ति सुशासन विकास समृद्धि प्राप्ति गर्नको लागि संविधानले मार्गप्रस्त गरेको प्रदेश प्रमुख गुरुङको भनाई थियो ।

उक्त कार्यक्रममा प्रदेशका सभामुख कृष्ण धितालले संविधानको विकल्प नभएको बताउँदै समय सापेक्ष संशोधन गर्नुपर्नेमा जोड दिनु भयो । निवर्तमान मुख्य मन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता खगराज अधिकारीले आफूहरू अग्निपरीक्षामा होमिनु पर्ने बताउँदै वीर शहीदको रगतले लेखिए संविधानको टिप्पणी गर्ने कसैलाई छुट नभएको बताउनु भयो । उहाँले संविधान प्रति कटिबद्ध सबै कटिबद्ध हुनु पर्नेमा जोड दिनु भयो । पोखरा महानगरका मेयर धनराज आचार्यले जनआन्दोलनबाट २०७२ सालमा प्राप्त संविधान, उत्कृष्ट संविधान भएको दाबी गर्नु भयो । शिक्षा विधेयकमा केही संशोधन गर्नुपर्ने उहाँको भनाई थियो ।

आज असोज ३ अर्थात् संविधान दिवस यस अवसरमा गण्डकी प्रदेशको राजधानी पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले बताउनु भयो । उक्त अवसरमा पोखरामा झाँकी सहितको र्‍याली प्रदर्शन गरिएको थियो । उक्त समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई ब्याण्ड बाजा सहित स्वागत तथा नेपाल प्रहरीले सलामी समेत दिएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव बद्रीनाथ अधिकारीले बताउनु भयो । उक्त अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठान, जोजिज्यू म्युजिक सेन्टर (स्कुल) का कलाकारको प्रस्तुति रहेको थियो । पोखराको शहिदचोकबाट सुरु भएको र्‍याली मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा आयोजित मुल समारोहमा परिणत भएको थियो ।


प्रतिक्रिया