`

नेपालको संविधान विश्वको उत्कृष्ट संविधान हो : वरिष्ठ उपाध्यक्ष पोखरेल

Nepal One HD ३ असोज २०८० १४:१४
राजनीति

जनकपुरधाम – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान जनताद्वारा निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान विश्वका उत्कृष्ट संविधान भएको बताउनु भएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीको जनकपुर नगर कमिटीले आज जनकपुरधामको जानकी मन्दिर परिसरमा आयोजना गरेको सरसफाई तथा झण्डोत्तोलन कार्यक्रममा बोल्दै वर्तमान संविधानको निर्माण सबै जातजाति तथा भूगोलका जन प्रतिनिधिहरूले मिलेर बनाएको बताउनु भयो ।

उहाँले यसका बाबजुद पनि संविधान केही परिमार्जन वा संशोधनको आवश्यकता छ भने दलीय सहमतिको आधारमा संशोधन गर्न सकिने बताउनु भयो । उहाँले संविधानको गतिशिल दस्ताबेज भएको बताउँदै जनताको चाहना तथा मुलुकको आवश्यकता अनुसार संशोधन गर्न सकिने बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान निर्माण भएको ८ औँ वर्ष प्रवेश गरेकोमा सबै नेपालीहरूमा शुभकामना दिँदै संविधानको कार्यान्वयन नयाँ प्रतिबद्धताका साथ राजनीतिक दलहरू लाग्न आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराई, नेकपा एमालेकी नेत्री जुली कुमारी महतो सहितका नेताहरूले जानकी मन्दिर परिसरमा रहेको उद्यानमा विभिन्न जातका बिरुवाहरू पनि रोप्नु भएको थियो ।

यसै उपलक्ष्यमा विभिन्न संघ संस्थाहरूको सहभागितामा जनकपुरधामको गंगासागर ,धनुषसागर क्षेत्रमा विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वय तथा अधिकृत संगम धनुषा, जनकपुरधाम उपमहानगरपालिका र सामाजिक संघ संस्थाहरूको सहभागितामा सरसफाई सम्पन्न भएको छ ।

सरसफाई कार्यक्रममा सफाई अभियानी एवं प्रदेश सभाका सदस्य रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डे सहितका प्रशासनिक निकायका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया