एसियाडमा जाने क्रिकेट टोलीको बिदाई


काठमाडौ– नेपाल क्रिकेट संघ (क्यान)ले चीनको हाङ्झाउमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ । बिदाई कार्यक्रममा क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिएका थिए । नेपाली टोली आजै हाङ्झाउ प्रस्थान गर्नेछन् ।
नेपालले असोज १० गते आफ्नो पहिलो खेलमा मंगोलियासंग प्रतिष्पर्धा गर्नेछ । त्यस्तै नेपालले समूह चरणको दोस्रो खेल असोज १४ गते माल्दिभ्ससंग खेल्नेछन् । एसियाडमा सहभागिता जनाउने नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी, अविनाश बोहरा र सन्दीप लामिछाने छन् । चोटका कारण ललित राजबंशीले भने प्रतियोगितामा सहभागि हुने छैनन् ।